आगामी शैक्षिक सत्रबाट प्रारम्भिक बालविकासको पाठ्यक्रम लागू हुने !



काठमाण्डौं | अबदेखि प्रारम्भिक बालविकास कक्षा पनि पाठ्यक्रममा आधारित भएर कक्षा सञ्चालन गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले आगामी शैक्षिक सत्रबाट सञ्चालन हुने गरी कक्षा १ मुनिका बालबालिकाका लागि पहिलोपटक पाठ्यक्रम लागू गर्न लागेको हो ।

देशभर अहिले पाँच हजार छ सय प्रारम्भिक बालविकास केन्द्र छन् । तर, पठनपाठनमा एकरुपता भने छैन । उनीहरुले आफ्नो अनुकूल पठनपाठन गराउँदै आएका छन् । पाठ्य सामग्री अलगअलग भएका कारण त्यसको असर सिकाईमा पर्नु साथै, शिक्षकले समेत अप्ठेरो परिस्थिति झेल्दै आइरहेका छन् ।

पठनपाठनमा एकरुपता नभईरहेको अवस्थामा समस्या समन्वयन गर्न भन्दै शिक्षा मन्त्रालयले १ कक्षा मुनि पाठ्यक्रम लागू गर्न लागेको हो । मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले पूर्व आधारभूत विद्यालयका नाममा पाठ्यक्रम बनाईसकेको छ । बालबालिकाको बौद्धिक, मानसिक र सिकाई क्षमता वृद्धिका लागि विभिन्न खेल, गीत र कथामा आधारित सामग्रीको प्रयोग गरी अभ्यास गराउने उद्देश्य सहित पाठ्यक्रम बनाईएको हो ।

दैनिक प्रयोगमा आउने सामाग्री र तिनका चित्रका माध्यमले बालबालिकामा पढाईप्रति अभिरुची जगाउने पाठ्यक्रमको उद्देश्यका साथ चार वर्ष उमेर पुगेका बालबालिकाका लागि १ वर्षे पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट लागू गरिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले २०६२ सालमा कक्षा एकभन्दा तलको इकाईलाई सम्बोधन गर्ने गरी केही मस्यौदा तयार भएको बताए । उनले भने, “सो मस्यौदा अनुरुप किन्डरगार्डेन, मन्टेश्वरी शिक्षाको रुपमा कक्षा १ भन्दा तलको शिक्षा सञ्चालन हुँदै आएको थियो तर अब त्यसलाई अझ व्यवस्थित गर्न विद्यालय र घरलाई जोड्ने एउटा पुलको रुपमा सिकाई गर्न आवश्यकता महशुस गरेर प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम बनाईएको हो ।” मूल रुपमा यो एक पढाउने पाठ्यक्रम नभएर सिकाउने पाठ्यक्रम रहेको उनले जानकारी दिए ।

निजी बालविकास केन्द्र र विद्यालयले बालबालिकालाई दुई वर्षकै उमेर देखी भर्ना गरेर नर्सरी, एलकेजी, यूकेजीलगायत कक्षाको नाम दिएर पढाउन र कुनै निकायबाट नियमन नहुँदा यसलाई मन्त्रालयले गलत मान्दै आएको थियो । सोही समस्यालाई समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐनले प्रारम्भिक बालविकास केन्द्र सञ्चालन, व्यवस्थापन र नियमनको जिम्मा वडा तहलाई दिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार