महासचिवबाट सिपी मैनालीलाई र उपमहासचिवबाट वामदेवलाई बर्खास्त गरेर कारबाही गर्ने माधवकुमार जब आफैं बर्खास्तीमा परे !



काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र शक्तिमा पुगेपछि आफूविरुद्ध देखिएका नेताहरुलाई कारबाही गर्ने नौलो कुरा होइन । अहिले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन् ।

जसको पूर्वमहासचिव माधवकुमार र झलनाथ खनाल समूहले विरोध गरिरहेको छ । खनाल यस्ता नेता हुन्, जुन बेला माधवकुमार महासचिव हुँदा वामदेव गौतमलाई कारबाही गर्दा पनि विरोधमा उत्रिएका थिए । अहिले त्यही कारबाही माधवकुमारमाथि दोहोरिँदा पनि विरोधमै उत्रिएका छन् ।

माधवकुमारद्वारा वामदेवमाथि कारबाही
पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरिरहँदा एमालेमा भएको साढे दुई दशक अघि एक घटनालाई स्मरण गराएको छ । जुन बेला उपमहासचिवबाट वामदेव गौतमलाई हटाइएको थियो ।

संवत् २०५१ मा भएको मध्यावधि निर्वाचनमा एमालेले ८८ सिट जितेर ठूलो दल बनेको थियो । एमालेले अल्पमतको सरकार बनाउने अवसर आयो । जसअनुसार तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र तत्कालीन महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री भएको एमालेले सरकार बनायो ।

अध्यक्ष र महासचिव सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टी काममा जिम्मा दिइयो । नौ महिनामै अधिकारी नेतृत्वको सरकार ढल्यो । यसपछि माधवकुमार समूहले वामदेव गौतमलाई उपमहासचिव बर्खास्त गरेर कारबाही गर्‍यो ।

यसबेलासम्म वामदेव पार्टीमा शक्तिशाली बनिसकेका थिए । तर, पनि माधवकुमार समूहले उनलाई कहिले कता कहिले कता पु¥याउने कार्य गरिरह्यो । वामदेवलाई कारबाही गरेको विरोधमा झलनाथ खनाल, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतका नेताहरु उल्टै माधवकुमारलाई महासचिवबाट हटाउने अभियानमा लागे । माधवकुमारलाई हटाएर झलनाथलाई महासचिव बनाउने अभियानमा वामदेव क्रियाशील भए । वामदेवको पक्षमा केन्द्रीय कमिटीमा बहुमतसमेत पुगेका थियो ।

महासचिवबाट माधवकुमार नेपाललाई हटाउने विषयमा एमालेको केन्द्रीय कमिटीमा पनि छलफल भएको थियो । आफूविरुद्धको अविश्वास प्रस्तावमा केन्द्रीय कमिटीमा बहुमत रहेको चाल पाएका माधवकुमारले निर्णय नै हुन नदिई माइन्युट बोकेर हिँडेका थिए । माधवकुमारलाई हटाएर झलनाथलाई महासचिव बनाउने पक्षमा बहुमत पुगेका अहिले पनि नेकपा एमालेका नेताहरु स्मरण गर्नेगर्छन् ।

सो घटनापछि माधवकुमार र वामदेवबीच चिसोपन रहँदै आएको थियो । यही बेलादेखि झाँगिन सुरु गरेको विवादले २०५३ असोजमा महाकाली सन्धी संसदबाट अनुमोदन गर्ने बेलामा आइपुग्दा एमाले विभाजनको तहसम्म पुग्यो । महाकाली सन्धीको पक्षमा माधवकुमार, केपी शर्मा ओली उभिँदा वामदेव विपक्षमा रहे । र अन्ततः २०५४ को महाधिवेशनपछि वामदेवले एमालेलाई पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार