ओलीले भने- यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयप्रति गरिएको पुनरावलोकनलाई लिएर प्रचण्डको आलोचना गरेका छन् । पार्टी एकता पहिल्यै भंग भइसकेकाले अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने उनको टिप्पणी छ । रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ओलीले अदालतले गरेको फैसलाको बचाउ गरे ।

उनले भने, ‘तपाईंहरूले एउटा क्लासमा जाँच दिएर फेल भएपछि उही क्लासमा फर्किनुहुन्छ नि । अदालतले हाम्रो दर्ता खारेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले निर्वाचन आयोगलाई १५ दिनको म्याद देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि ? एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’

उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको बताए । ओलीले भने, ‘मैले प्रचण्डजीलाई फोन गरेँ । पार्टी अलग-अलग भयो । हामी बसेर कुरा गरौं भने । उहाँले केन्द्रीय समितिको वैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो । एकछिनपछि अनलाइनमा आयो, ‘ओलीले फोन गरेका थिए, मैले भेट्न मन छैन भनेर टार्दिएँ । उहाँले यसमा अखबारवाजी गर्नुभयो ।’

ओलीले नेकपाको एकता सर्वोच्चको फैसला अघि नै तोडिएको बताए । ‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’

ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा-आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति प्रचण्डले नै च्यातेको बताए । ‘आधा-आधा भनेको थियो खोइ त भन्छन् ? त्यो सहमति बिचैमा च्यातेर पाँच वर्षै तपाईं गर्नुस् भनेको होइन उहाँले ? यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार