कोरिया जाने पर्खाईमा १५ हजार नेपाली



सन् २०१७ देखि कोरियन भाषा उत्तीर्ण गरेकामध्ये कतिपयले अहिलेसम्म पनि कोरिया जान पाएका छैनन् । उनीहरूले बेलाबेला आफूलाई छिटो कोरिया पठाउन भन्दै आन्दोलन गर्नेलगायत सङ्घर्ष पनि गर्दै आएका छन् । परीक्षा उत्तीर्ण गरेर रोस्टरमा बसेका १० हजार र लेबर पर्मिट आएर पनि जान नपाएका पाँच हजार गरि अझैं १५ हजार जति कोरिया जान बाँकी रहेको ईपीएस शाखाले जनाएको छ ।

ईपीएस शाखाका अनुसार लेबर पर्मिट आएर पनि जान नपाएकाहरूलाई नयाँ वर्षको सुरुमै बोलाउने भन्ने कुरा भए पनि अहिलेसम्म कोरियाबाट कुनै लिखित जानकारी आएको छैन । भिसा आएको ६ महिनाभित्र कोरिया गइसक्नुपर्ने हुन्छ । तर कोरिया सरकारले अहिले सीसीभीआईको म्याद सकिएपछि त्यसको म्याद थप गरिदिने गरेको छ । यसले गर्दा जान पाइएन भनेर आत्ती नै हाल्न नहुने ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले बताउनुभयो ।

कोरिया सरकारले कोरोनाको कारण देखाएर नेपाल लगायत विभिन्न १६ देशबाट श्रमिकहरु बोलाउन अप्ठ्यारो मानिरहेको उहाँको भनाइ छ । ‘कोरिया सरकारले अझै पनि नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ, हाम्रो देशबाट श्रमिक लिनलाई स्वीकृति दिइसकेको छैन’, गौतमले भन्नुभयो, ‘हामी हाम्रो तर्फबाट पहल गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, परराष्ट्रमार्फत पनि कुरा अगाडि बढाइरहेका छौं ।’ कोरियाले ट्रायलकोरुपमा कम्बोडिया र श्रीलङ्काबाट केही श्रमिक लिइरहेकाले नेपालबाट पनि चाँडै लिनेछ भन्ने आस चाहिँ गर्न सकिने निर्देशक गौतम बताउनुहुन्छ । source हेल्लो नेपाल कोरिया

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार