काेरियाबाट आयो खुसीको खबर : ‘कमिटेड वर्कर’ लाई कोरिया प्रवेशमा प्राथमिकता



साेल – कोरोना संक्रमणका कारण रोकिएको कोरियाको रोजगारी ‘प्रतिबद्ध कामदार’ (कमिटेड वर्कर) लाई पहिलो प्राथमिकतामा राखेर सुचारु गरिने भएको छ । कोरियाका रोजगारदाताले पुनः प्रवेश अनुमति दिएका यस्ता श्रमिक दक्ष र अनुभवी भएका कारण पहिलो प्राथमिकतामा राखिएको हो । कोरियामा श्रमिक आपूर्ति गर्दै आएका नेपालसहित १६ देशको संक्रमण अवस्थालाई हेरेर कोरिया सरकारले रोजगारी सुचारु गर्ने जनाइरहेका बेला पहिलो प्राथमिकतामा यस्ता कामदारलाई राखिने भएको हो ।

एचआरडी कोरिया र नेपालका प्रतिनिधिबीच पटक–पटक भएको छलफलमा कोरिया प्रवेश गराउने मोडालिटी, परीक्षालगायतका विषयमा समेत छलफल भएको छ । रोजगारदाता परिवर्तन नगरी नियमित पाँच वर्षसम्म एउटै रोजगारदाताकोमा काम गर्नेलाई प्रतिबद्ध कामदारका रूपमा लिइन्छ ।

कोरियाले सन् २०२१ मा उत्पादन, कृषि, निर्माण र सेवा क्षेत्रमा ४० हजारभन्दा बढी विदेशी लिने जनाए पनि जाने प्रक्रिया भने हुन सकेको छैन । मानव संशाधन बोर्ड कोरियाले फेब्रुअरीमा ६ हजार २ सय ५०, अप्रिलमा ६ हजार २ सय ५०, जुनमा १२ हजार २ सय ५०, सेप्टेम्बरमा १२ हजार २ सय ५० विदेशी कामदारका लागि भिसा जारी गर्ने तयारी गरेको छ । यसमध्ये उत्पादनमूलक क्षेत्रमा २७ हजार ४ सय, कृषि क्षेत्रमा ५ हजार ९०, मत्स्यव्यवसाय क्षेत्रमा २ हजार ६ सय ५०, निर्माण क्षेत्रमा १ हजार ७ सय ८० र सेवा क्षेत्रमा ८० विदेशीको रोजगारी भिसा दिने भएको छ । कोरियाले तत्कालका लागि प्रवेशमा रोक लगाए पनि अन्य श्रम सम्झौता, भिसा इस्यु, रोजगार इस्युलगायतका काम भने गरिरहेको छ ।

कोरियन पक्षले कुन मितिमा नेपाली श्रमिक लैजानेबारे जानकारी नदिए पनि पहिलो चरणमा भिसा लागेर जाने तयारीमा रहेका प्रतिबद्ध कामदार र त्यसपछि नयाँ श्रमिकलाई लैजाने अनौपचारिक जानकारी दिएको छ । हाल नेपालबाट कोरिया प्रवेशको प्रतीक्षामा लगभग १ हजार ६ सय प्रतिबद्ध कामदार रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख इन्द्र गौतमले जानकारी दिए ।

यसैगरी कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरेर कोरिया प्रवेशको तयारीमा रहेका लगभग ५ हजार नेपालीलाई पनि प्राथमिकतामा राखेर लैजाने कोरियाको तयारी छ । कोरोनाका कारण श्रम सम्झौता गरेर कोरिया प्रवेश नपाएर रोस्टरको म्याद समाप्त भएका नेपाली युवाको समय थप गर्नेबारेमा समेत नेपाल पक्षले अनुरोध गरेको प्रमुख गौतमले जानकारी दिए ।

कोरोना संक्रमणका समयमा कोरिया प्रवेश गर्न नपाई भिसाको म्याद समाप्त भएका नेपालीको म्याद ३÷३ महिनामा नवीकरणसमेत गरिरहेको छ । चैतयता अन्य श्रम गन्तव्यमा नेपाली युवा जान सुरु गरे पनि कोरिया जाने तयारीमा बसेका कोही पनि युवा जान पाएका छैनन् । संक्रमणका कारण समयमा कोरिया प्रवेश गर्न नपाएका कारण कतिपय रोजगारदाताले नेपालीको श्रम सम्झौता समेत रद्द गरेका छन् । श्रम सम्झौता रद्द भएका युवालाई भने कोरिया प्रवेशमा प्राथमिकता दिइँदै आएको छ ।

कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाइरहेको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालयअन्तर्गतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेका छन् । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार