स्थायी शिक्षकको विज्ञापन यति धेरै संख्यामा खुल्दैछ



काठमाडौं । शिक्षक सेवा आयोगले झण्डै १५ हजार स्थायी शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरेको जनाएको छ । खुला र बढुवा तर्फ गरेर आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १४ हजार ७ सय ५२ पदका लागि विज्ञापन आव्हान गर्ने जनाएको छ ।

आयोगका अनुसार २ हजार ६ सय ९१ बढुवा तर्फ र १२ हजार ६१ खुल्लातर्फको पद रहेको छ। आयोगले बढुवा शिक्षकतर्फ प्रावि प्रथम तहमा ३ सय ८४, प्रावि द्वितियमा १ हजार ३ सय २५, निमावि प्रथमतर्फ ६९, निमावि द्वितियतर्फ ३ सय ६४, मावि प्रथमतर्फ ९९, मावि द्वितियतर्फ ४ सय ५० गरी जम्मा २ हजार ६ सय ९१ पदको विज्ञापन खुला गर्ने तयारी गरेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

यसमा २५ प्रतिशत आन्तरीक प्रतियोगात्मक परीक्षा (लिखित), ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभाजन हुने पनि उनले जानकारी दिए । उनकाअनुसार खुल्लातर्फ प्राथमिक तहको तृतीयमा ९ हजार १ सय ६, निम्न माविमा विभिन्न विषय गरेर १ हजार ९ सय १३ र माविमा विभिन्न विषय गरेर १ हजार ४२ गरी जम्मा १२ हजार ६१ पदका लागि विज्ञापन खुला गर्ने तयारी छ ।

यसरी जम्मा आएका रिक्त दरबन्दीमध्येबाट ५५ प्रतिशत खुलामा जाने छ र बाँकी रहेको ४५ प्रतिशत पदहरु मध्येबाट समावेशी तर्फ जाने छ। आयोगका रिक्त रहेको तीन सदस्यीय पदाधिकारी मन्त्रिपरिषद्बाट सिफारीस भएर आएपछि उनिहरुको निर्णयपछि आयोगले विज्ञापन खोल्ने अन्तिम तयारीमा रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार