सरकार विरुद्ध सडकमा आउन विश्वप्रकाशकाे भिडियो सन्देश , यस्तो छ कांग्रेसकाे तयारी !



नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने भएको छ। मंसिर २९ मा देशैभरको प्रदर्शनमा सहभागी हुन कांग्रेसले आह्वान गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडिओ सन्देश दिँदै भनेका छन्-यही मंसिर २९ गते सोमबार हामी एकसाथ सडकमा ओर्लदै छौं। विसंगतिहरूको विरूद्धमा, लोकतन्त्रको पक्षमा तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ? गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच प्रदर्शनको बाटो रोजेको छ।

पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै कांग्रेसले बेलैमा सचेत हुनुपर्ने बताउने गरेको छ। मंसिर २९ मा हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ। शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ।

केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्। कोरोना संक्रमणले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदर्शनमा सहभागी हुनेछैनन्। उनले महोत्तरीमा सम्बोधन गर्ने कार्यक्रम थियो। केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।

प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार