सम्पूर्ण नेपालीलाई काेराेनाकाे खाेप निःशुल्क !

कोभ्याक्सले २० प्रतिशत खोप निःशुल्क दिने !


काठमाडौं । सरकारले सम्पूर्ण नागरिकलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । २० प्रतिशत जनसंख्याका लागि कोभ्याक्स सुविधा मार्फत र बाँकी नागरिकलाई सरकारले खरिद गरेर खोप दिने तयारी गरेको छ । सहज र समान खोप पहुँचका लागि गठित कोभ्याक्स सुविधाले नेपाललाई निःशुल्क खोप दिने भएको छ । खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क दिने टुंगो लागेको जानकारी दिनुभयो । पहिला कोभ्याक्स मार्फत आउने खोपलाई प्रतिमात्रा २ डलर तिर्नपर्ने कुरा भएको थियो तर अहिले उसले निःशुल्क खोप दिने जानकारी गराएको उहाँले बताउनुभयो ।

उप्रेतीले भन्नुभयो, ‘कोभ्याक्सले निःशुल्क खोप दिँदा खोप सञ्चालनको लागि २ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ, यसअघि कोभ्याक्सले दिने खोपका लागि ६ अर्ब रुपैयाँ खर्चको प्रस्ताव गरेएको थियो ।’ १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अहिलेसम्म कुनै पनि खोपको परीक्षण नभएकाले सो उमेरसमुहका बालबालिकालाई खोप नदिने योजना सरकारको छ । एकैपटक पूरै जनसंख्यालाई पुग्ने खोप नेपालमा भित्र्याउन नसकिने भएकाले पहिलो चरणमा कोभ्याक्स मार्फत २० प्रतिशत जनसंख्यालाई आउने खोप जोखिम क्षेत्रमा खटिने व्यक्तिहरुले पाउनेछन् । खोपको पहिलो प्राथमकितामा स्वास्थ्यकर्मी र उनीहरुसँगै खटिने सफाई कर्मचारीहरु रहेका छन् । त्यसपछि दैनिक अत्यावश्यक सेवाका कार्यालयमा खटिने जसले सामाजिक दूरी कायम राख्न सक्दैनन् उनीहरुले खोप पाउनेछन् ।

यसैगरी ५५ वर्षभन्दा माथि उमेरका व्यक्ति र ४० देखि ५५ वर्षउमेरका दीर्घरोगीलाई पहिलो चरणमा खोप दिइनेछ । बालबालिकाहरु कोरोना संक्रमणको कम जोखिममा रहेकाले पनि उनीहरुलाई खोप दिने योजना नरहेको उप्रेती बताउनुहुन्छ । हाल नेपालमा कुल जनसंख्याको २८ प्रतिशत अर्थात् ८४ लाख १५ वर्षमुनिका बालबालिका रहेका छन् । बालबालिका बाहेकका बाँकी ७२ प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरिएको छ । ७२ प्रतिशतमध्ये २० प्रतिशत जनसंख्यालाई कोभ्याक्ले निःशुल्क खोप दिने भएपछि बाँकी ५२ प्रतिशत जनसंख्यालाई भने सरकारले खोप खरिद गरेर निःशुल्क उपलब्ध गराउने उप्रेतीले बताउनुभयो ।

उप्रेतीका अनुसार खोप खरिदका लागि सरकारको ४२ अर्ब रुपैया खर्च हुने आँकलन गरिएको छ । प्रतिमात्रा १० डलर खर्चको अनुमान गरिएको छ । अहिले पनि नेपालको भण्डारण क्षमतासँग मिल्ने धेरै खोपहरु अन्तिम चरणको परीक्षणमा छन् यद्यपि नतिजा आइसकेको छैन, उप्रेतीले भन्नुभयो, ‘सुरक्षित र धेरै प्रभावकारी हुने खोप ल्याउनुपर्छ त्यसैले विश्व स्वास्थ्य संगठन र उत्पादित देशको नियमन संस्थाले स्विकृति प्रदान गरेपछि मात्रै नेपालको लागि कुन खोप उपयुक्त हन्छ ती खोपहरुको सूची बनाउने प्रक्रिया सुरु हुन्छ ।’ नेपालमा हाल माइनस २० तथा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने भण्डारण क्षमता रहेको छ । खोप ल्याउन, भण्डारण गर्न, खोप लगाउने व्यक्तिको पहिचान लगायतको काम गर्न स्वास्थ्य मन्त्रायलयले ८ वटा समिति गठन गरिसकेको बताउँदै उप्रेतीले खोप आइसकेपछि खोप कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको जानकारी दिनुभयो । Source : healthpati

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार