पुल्चोकमा भिडले पिटेका प्रहरी जवान भन्छन्- हेल्मेट फुस्किएको भए मर्थेँ



ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत् प्रहरी जवान कमलप्रसाद घिमिरे बिहीबार नटोल डाइभर्सनमा थिए। यो ललितपुर महानगरपालिकाको पछाडिपट्टि हो। सवारी साधनहरूलाई ‘डाइभर्ट’ गर्दै ड्युटी गरिरहेका थिए। उनको साथमा प्रहरी सहायक निरीक्षक कृष्ण घलान पनि थिए। राता मच्छिन्द्रनाथको रथ ल्याउनेहरूको भीडभाड बढिरहेको थियो। उनी सवारीसाधन पास गराएरै बसिरहे। तर, अचानक अगाडिबाट ठूलो भिड आयो। थेग्नै नसकिने खालको। त्यो भिडमा भाग्नुको विकल्प थिएन।

असई घलानले एक दुई मुक्का खाएर भागिसकेछन्। उनले त्यो देखेनन्। ‘ए भाग भाग भन्यो कसैले,’ जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत् घिमिरेले भने, ‘मोटरसाइकल स्टार्ट के गरेको थिएँ, ८-१० जना भएर लडाएर कुट्न थाले।’ उनी चढेको बा २ झ ७२४२ नम्बरको मोटरसाइकल त्यही पल्टियो। मोटरसाइकलको अवस्था के छ थाहा छैन। धन्न उनले टाउकोमा लगाएको हेल्मेट फुत्केन। ती ८-१० जना कसैले इँट्टाले हेल्मेटमाथि, कसैले जीउमा मुक्का, लात्ती प्रहार गरेका थिए।

‘हेल्मेट फुस्किएको भए म मर्थेँ,’ उनले भने। कसैले कुटपिट गरहेका बीचबाट उनलाई जोगाउन पनि खोजे। त्यही जोगाउने समूहको मद्दतका कारण अप्रिय घटना हुन पाएन।
‘केही मिलेर मलाई अंगाल्दै भाग्न मद्दत गरे, म अन्य प्रहरीहरूको बीचमा पुग्नै लाग्दा ढलेँ।’ कोरोना महामारीका कारण जारी निषेधाज्ञाका बेला रातो मच्छिन्द्रनाथको रथयात्रा प्रभावित भएपछि आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए। यो घटना हुँदा अन्य सुरक्षाकर्मी कोही नभएकाले गर्दा घिमिरे भीडमा फसेका थिए। त्यो भीड सरकार र प्रहरीसँग आक्रोशित थियो। सधैं प्रहरीले भीडमा सर्वसाधारण कुटपिट गरेको खबर आइरहँदा बिहीबार भने ठिक विपरीत भइरहेको थियो।

उनको जीउमा साधारण चोटपटक छ। टाउको भने अत्यधिक दुखेको महशुस भएको उनले बताए। उनको टाउकोको सिटिस्क्यान रिपोर्ट सामान्य देखिएको छ। चिकित्सकले बिहीबार अस्पतालमै बस्न सुझाव दिएका छन्। शुक्रबार उनी डिस्चार्ज हुँदैछन्। घिमिरेको घर सिन्धुली दुधौली नगरपालिका-४ हो। उनी गत मंसिरदेखि प्रभाग मंगलबजारमा छन्। महानगरीय ट्राफिक महाशाखाले प्रहरीमाथि कुटपिट गर्नेहरूको पहिचान गरिरहेको जनाएको छ।

रवि तिमिल्सिनाको ट्वीटरबाट

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार