
काठमाडौँ — सरकार र आमरण अनशनरत डा.गोविन्द केसी पक्षबीच शुक्रबार मध्यराति भएको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ । २६ दिनदेखि अनशनरत डा। केसीको स्वास्थ्य बिग्रिँदै गएका बेला वार्तामा छलछाम गरेर सरकारले सत्याग्रहीमाथि अमानवीय व्यवहार देखाएको डा। केसीतर्फका वार्ता टोली संयोजक डा। जीवन क्षत्रीले बताएका छन् । ‘बिहीबार भएको सम्झौताबाट पनि सरकार पछि हट्यो,’ उनले भने ।
सरकारी वार्ता टोली र डा। केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो । बिहीबारको वार्ता निष्कर्षउन्मुख रहेको दुवै पक्षले दाबी गरेका थिए । त्यतिबेला आन्तरिक गृहकार्य गरेर पुनः वार्तामा बस्ने समझदारी भएको थियो । तर शुक्रबार अबेर राति मात्रै सरकारी टोली वार्ताका लागि तयार भएको थियो । वार्तापछि डा। क्षत्रीले सरकार नतिजामुखी हुन नदिने रणनीतिमा रहेको प्रस्ट भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल डा। केसीको जीवनरक्षामा जिम्मेवार र संवेदनशील नभएको उनको भनाइ छ । ‘दिनभरि गृहकार्य गर्दै छौं भनेर वार्तामा बस्न आलटाल गरियो,’ उनले कान्तिपुरसँग भने, ‘हामीले राति १० बजे पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्छौं भनेपछि ९ बजे वार्तामा डाकियो तर कुनै पनि बुँदालाई अन्तिम रूप दिन सकिएन ।’
वार्ता निष्कर्षविहीन भएपछि डा। केसी पक्षले सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । डा। केसीका तर्फबाट गठित वार्ता टोलीले नै त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर चिकित्सक संघ, रेजिडेन्ट चिकित्सकका संगठनहरू, अन्य संस्था र आमनागरिकलाई आन्दोलनमा आउन अपिल गरेको समाचार कान्तिपुर दैनिकमा छ ।