स्नो रिभर्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर प्रस्ताव



काठमाडौं । स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा सम्पन्न भएको छ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार चुक्ता पूँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशत बराबर ९ करोड ३७ लाख ५० हजार रुपैयाँको बोनस शेयर अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। बोनस शेयरको कर प्रयोजनका लागि ४९ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांशसमेत प्रस्ताव गरिएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तुलनामा आव २०८२/८३ मा वित्तीय अवस्थामा सुधार गरेको जनाएको छ। समीक्षा अवधिमा कम्पनीको शेयर पूँजी ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १० करोड ६८ लाख ११ हजार २६५ रुपैयाँ कायम भएको छ। कम्पनीको दीर्घकालीन तथा मध्यमकालीन ऋण १ अर्ब ८२ करोड १८ लाख ३७ हजार ५१४ रुपैयाँ रहेको छ।

कम्पनीको स्थिर सम्पत्ति २ अर्ब ७७ करोड २९ लाख ५० हजार १८५ रुपैयाँ र चालु सम्पत्ति २३ करोड ५८ लाख ५५ हजार ४८२ रुपैयाँ रहेको जनाइएको छ। कम्पनीको दीर्घकालीन ऋण एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ।

सुपर काबेली खोला–ए जलविद्युत आयोजनाले आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) अनुसारको कुल ऊर्जाको ८८.२० प्रतिशत विद्युत उत्पादन गरेको छ। अमरपुर सबस्टेशनमा देखिएको ओभरलोड तथा प्रसारणसम्बन्धी समस्याका कारण केही अवधिमा आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नसकेको कम्पनीले जनाएको छ।

आगामी दिनमा पीपीएमा उल्लेखित वार्षिक ऊर्जाको शतप्रतिशत उत्पादन गर्ने लक्ष्यसहित कम्पनीले स्रोत–साधनको प्रभावकारी व्यवस्थापन, प्रसारण लाइनमा देखिएको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण तथा अन्य स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग समन्वय गर्ने योजना अघि सारेको छ।

साथै बाढी निगरानी प्रणालीलाई थप सुदृढ बनाउने, पावरहाउस, टनेल तथा ट्रान्सफर्मर क्षेत्रको सुरक्षा मूल्यांकन गर्ने र प्रमुख मेसिनरीको नियमित निरीक्षण तथा मर्मतसम्भारलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ।
स्नो रिभर्स लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१ भदौ ११ गते स्थापना भएको हो। कम्पनी २०७९ असार ३ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो भने २०७९ साउन १ गतेदेखि पब्लिक लिमिटेडका रूपमा कारोबार गर्दै आएको छ। जलस्रोतलाई ऊर्जामा रूपान्तरण गर्दै जलविद्युत आयोजना विकास, निर्माण तथा सञ्चालन गर्ने र सर्वसाधारणको सहभागितामार्फत नेपालको ऊर्जा विकासमा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य रहेको छ।

यसैबीच, कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रमा सडक तथा पुल मर्मत, विद्यालय सुधार, सिँचाइ कुलो व्यवस्थापन र वृक्षारोपणलगायतका सामाजिक कार्यलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ।

सभामा कम्पनीको वर्तमान वित्तीय अवस्था, सुपर काबेली खोला–ए जलविद्युत आयोजनाको उत्पादन, आगामी लगानी रणनीति तथा शेयरधनीको हितका विषयमा छलफल भएको थियो। ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै दीर्घकालीन रूपमा उत्पादन क्षमता र वित्तीय प्रतिफल बढाउने लक्ष्य कम्पनीले लिएको छ।

सभाले कम्पनीको नियमावली परिमार्जन गरी स्वतन्त्र सञ्चालकको कार्यकाल चार वर्ष कायम गर्ने निर्णयसमेत गरेको छ। साथै प्रकाश श्रेष्ठलाई स्वतन्त्र सञ्चालक तथा उत्तम पौडेललाई बाँकी कार्यकालका लागि सञ्चालक समितिमा नियुक्त गरिएको छ। हाल कम्पनीको सञ्चालक समितिमा मोहन विक्रम कार्की अध्यक्ष तथा उत्तम पौडेल, दिपा राना मगर र प्रकाश श्रेष्ठ सदस्य रहेका छन्।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार