दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा



काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंका विभिन्न धार्मिक कृत्य तथा पूजाआजाका लागि शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको छ।

दशैंको मुख्य दिन मानिने विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत तोकिएको छ। टीका ग्रहण गर्दा र लगाइदिँदा दुवै व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।

सोही दिन बिहान १०:५१ बजे श्री तुलजाभवानी यात्राको साइत रहेको छ भने ११:५२ बजे स्थिरासन र खड्गयात्राको कार्यक्रम रहेको छ।

असिन् २५ गते घटस्थापना, चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने

यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार परेको छ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले शास्त्रनुसार घटस्थापना गर्नुअघि यी दुवैको शान्ति पूजा गर्नुपर्ने समितिले स्पष्ट पारेको छ।

अन्य मुख्य तिथि र साइतहरू:

  • असोज २६ (सोमबार): बिहान १०:०७ बजे झण्डा फेर्ने साइत (पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने)।
  • असोज २९ (बिहीबार): श्री पचलीभैरव यात्रा।
  • असोज ३१ (शनिबार): फूलपाती — श्री तुलजाभवानी यात्रा बिहान ७:३७ बजे र स्थिरासन बिहान १०:३९ बजे।
  • कात्तिक १ (आइतबार): महाष्टमी तथा कालरात्रि।
  • कात्तिक ३ (मंगलबार): महानवमी।
  • कात्तिक ८ (आइतबार): अखिलबलिपूर्ति तथा कोजाग्रत पूर्णिमा।
प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार