काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको बानेश्वरस्थित प्रयागमार्गमा रहेको विष्णुमती पार्टी प्यालेसमा शनिबार आयोजित साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी योजनाबारे छलफल गरिएको थियो।
साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरी छलफल तथा अनुमोदन गरिएको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम तथा बजेट, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन तथा विभिन्न नीति एवं कार्यविधि अनुमोदनसम्बन्धी प्रस्तावमा छलफल गरिएको थियो। संस्थाले एकीकरण तथा गैरबैंकिङ सम्पत्ति बिक्री लगायतका विषयलाई पनि साधारणसभाको एजेन्डामा समेटेको थियो।
सभामा साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयन तथा सञ्चालक समितिको बैठक भत्ता र प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक अनुमोदनसम्बन्धी प्रस्तावमाथि समेत छलफल भएको थियो।
सभामा अध्यक्षले संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सहकारी ऐन, नियम तथा नियामक निकायका निर्देशन पालना गरी संस्थागत गतिविधि अघि बढाउँदै आएको जानकारी गराए। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीका बीच सदस्यहरूको विश्वास कायम राख्दै संस्थालाई अझ व्यवस्थित, सुदृढ र दिगो वित्तीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
अध्यक्षको मन्तव्यमा २०८३ भदौ १० गते आएको बाढी तथा पहिरोबाट स्याङ्जा, धादिङ, गोरखालगायत जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्का समयमा सहयोगस्वरूप सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको जानकारीसमेत दिइएको थियो।
संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भई नियामक निकायका नियम, कानुन तथा निर्देशन कार्यान्वयन गर्दै आएको जनाएको छ। कर्जा सूचना केन्द्रमा आबद्ध भएसँगै समय–समयमा हुने सहकारी ऐन, २०७४ का संशोधनलाई समेत क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइएको छ।
साधारणसभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य, शेयर सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो। सभाले संस्थाको आगामी कार्यदिशा तथा योजनालाई अघि बढाउन आवश्यक निर्णयसमेत गरेको जनाएको छ।















