काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिमाटी–१३, काठमाडौंको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०८३ असोज ८ गते बिहीबार कालिमाटी ब्याङ्क्वेट सोल्टीमोडमा आयोजित साधारणसभा बिहान ९ बजे सुरु भएको थियो।
सभामा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य, कर्मचारी र सहकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक डा. परितोष पौड्याल प्रमुख अतिथि तथा तरकारी फलफूल व्यवसायी महासंघका अध्यक्ष भरत प्रसाद खतिवडा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, सल्लाहकार, पत्रकार तथा संस्थाका शेयर सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल गरिएको थियो। साथै आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखापरीक्षकको प्रतिवेदनमाथि समेत छलफल भएको थियो।
सभाले शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाका आन्तरिक कार्यविधि संशोधन तथा पारित गर्ने लगायतका विषयमा छलफल गरी आवश्यक निर्णय गरेको छ।
त्यसैगरी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका भत्ता, प्रमुख कार्यकारी अधिकृतको सेवा–सुविधा, आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिबाट भएका निर्णयको अनुमोदन तथा सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने विषयमा समेत साधारणसभाले निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यको जानकारी, २७औँ वार्षिक साधारणसभाको माइन्युट प्रमाणीकरणका लागि प्रतिनिधि चयन तथा विविध विषयमा समेत छलफल गरिएको थियो।
साधारणसभाको अवसरमा विभिन्न सहकारी संघ–संस्थाले तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको प्रगति तथा साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले संस्थाले सदस्यहरूको आयआर्जन वृद्धि, वित्तीय पहुँच विस्तार, बचत संस्कृतिको विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै साधारणसभाको सफलताको शुभकामना दिनुभएको थियो।
त्यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्य केन्द्रित सेवा, वित्तीय सुशासन र गुणस्तरीय सेवामार्फत संस्थालाई थप दिगो बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उद्धव सापकोटाले कालिमाटी क्षेत्रलाई कार्यक्षेत्र बनाई तरकारी तथा फलफूल व्यवसायसँगै अन्य पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूलाई वित्तीय पहुँच विस्तार गर्न संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कून) का अध्यक्ष दीपक पनेरुले संस्थाको निरन्तर प्रगति तथा गुणस्तरीय सेवा प्रवाहका लागि शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रमा देखिएका चुनौतीका बीच सदस्यको विश्वास, सहकार्य र सहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो।
सहयोगी सबैलाई संस्थाको आभार
२७औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न निकायबाट उपस्थित अतिथि, सल्लाहकार, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवं सदस्य, विभिन्न उपसमितिका सदस्य, प्राविधिक तथा कर्मचारी, पत्रकार र सम्पूर्ण शेयर सदस्यहरूप्रति संस्थाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
संस्थाका अनुसार उपस्थित सबैको सहभागिता, सहयोग र सद्भावले साधारणसभा व्यवस्थित तथा सफल रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुगेको छ।
संस्थाले आगामी दिनमा सदस्यको हित, वित्तीय अनुशासन, सुशासन, पारदर्शिता तथा गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै सहकारी अभियानमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।









