बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण र पहिरो पन्छाउने काम सुरु



काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण क्षतिग्रस्त बीपी राजमार्गमा सडक डिभिजन कार्यालय भक्तपुरले तत्काल यातायात सञ्चालन सहज बनाउन निर्माण तथा सफाईको काम तीव्र पारेको छ। रोशी खोलाले विभिन्न स्थानमा कटान गरी बगाएका अस्थायी डाइभर्सनको पुनर्निर्माण तथा लेदो-पहिरो पन्छाउने कार्य एकैसाथ अघि बढाइएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार नमोबुद्ध–६ स्थित चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी ११ र १२ का तीन गरी प्रमुख चार स्थानमा बाढीले बगाएका डाइभर्सन पुन:निर्माण थालिएको छ। यसका साथै रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा थुप्रिएको पहिरो सफा गर्ने काम भइरहेको छ।

अविरल वर्षाका कारण हाल बीपी राजमार्ग अन्तर्गत नमोबुद्धको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध रहेको छ। प्राविधिक टोली र उपकरण परिचालन गरी सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको डिभिजन प्रमुख योगेशले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार