काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारणसभा दुई छुट्टाछुट्टै इकाइमा सम्पन्न भएको छ। सदस्यहरूको भौगोलिक क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सभा आयोजना गरिएको हो।
संस्थाका अनुसार पहिलो इकाइको साधारणसभा २०८३ भदौ २७ गते शनिबार काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट दरबार पार्टी प्यालेस, महाराजगञ्ज–शंखपार्कमा सम्पन्न भएको थियो। दिउँसो १ बजे भएको उक्त सभामा काठमाडौं जिल्लाका साथै काठमाडौं महानगरपालिकाका विभिन्न वडा, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, शंखरापुर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका सदस्य सहभागी भएका थिए।
त्यसैगरी, दोस्रो इकाइको साधारणसभा २०८३ असोज ३ गते शनिबार काठमाडौंको बागबजारस्थित न्हुजा पार्टी भेन्यूमा सम्पन्न भएको हो। उक्त इकाइमा भक्तपुर र ललितपुर जिल्लाका सदस्यसँगै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका सदस्य तथा काठमाडौं महानगरपालिकाका विभिन्न वडा र नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका सदस्य सहभागी भएका थिए।
सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्तावमाथि विचार गरिएको थियो। साथै, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनमाथि पनि छलफल गरिएको थियो।
वार्षिक प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेका उपलब्धि, विगतका नीति तथा कार्यक्रमको प्रगति तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम र बजेटबारे सदस्यलाई जानकारी गराइएको थियो।
२९ वर्षको यात्रामा सदस्यको हित र आर्थिक विकासलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको संस्थाले नियामक निकायका निर्देशनको पालना गर्दै सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार सदस्यकेन्द्रित सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट भएका विभिन्न निर्णय अनुमोदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथि छलफल गर्ने विषय कार्यसूचीमा समावेश थियो।
सभाको अर्को महत्वपूर्ण विषयका रूपमा सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनसमेत राखिएको थियो। साथै, प्रमुख कार्यकारी अधिकृतको भत्ता, सेवा सुविधा तथा पारिश्रमिक निर्धारण र संस्थाका आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने विषयमा समेत छलफल गरिएको थियो।
एकाइ बैठकका निर्णय प्रमाणित गर्ने प्रतिनिधि छनोट तथा साधारणसभाका एकाइ प्रतिनिधिहरूको सभामा निर्णय प्रमाणित गर्ने प्रतिनिधि चयन गर्ने विषय पनि कार्यसूचीमा समावेश थियो।

संस्थाको कार्यक्षेत्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका साथै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकासम्म रहेको छ। हाल संस्थाले बत्तीसपुतलीस्थित केन्द्रीय कार्यालय र इन्द्रचोकस्थित शाखा कार्यालयमार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
साधारणसभामार्फत संस्थाले आगामी दिनमा सदस्यको हित, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सदस्यकेन्द्रित सेवालाई थप प्रभावकारी बनाउँदै सहकारीलाई दीर्घकालीन रूपमा सबल बनाउने प्रतिबद्धता जनाएको छ।
















