महिमा बहुउद्देश्यीय सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । महिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा काठमाडौंको जडिबुटीस्थित रोयल जडिबुटी बैंक्वेटमा सम्पन्न भएको छ।

सञ्चालक समितिको २०८३ साउन २७ गते बसेको बैठकको निर्णयअनुसार आह्वान गरिएको साधारणसभा शनिबार दिउँसो १ बजे सुरु भएको हो। सभामा अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ।
सभाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र अघिल्लो वर्षका समिति तथा उपसमितिका निर्णय अनुमोदन गर्ने विषयमा समेत छलफल गरेको छ।

त्यसैगरी, विषयगत तथा उद्देश्य मिल्ने अन्य सहकारी संस्थासँग एकीकरण तथा प्राप्ति गर्ने, विभिन्न नीति तथा कार्यविधि पारित गर्ने र संरक्षित पूँजी फिर्ता कोषमा रहेको रकम भवन निर्माण कोषमा स्थानान्तरण गर्ने प्रस्तावसमेत सभामा प्रस्तुत गरिएको थियो।

सभाले धितो लिलाम तथा गैरबैंकिङ सम्पत्ति प्राप्ति र बिक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा निर्णय पुस्तिकामा हस्ताक्षरका लागि सदस्यहरूबाट प्रतिनिधि चयन गर्ने विषयमा पनि निर्णय गरेको छ।
सञ्चालक समितिका तर्फबाट अध्यक्ष जनक प्रकाश थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार संस्था २०७० फागुन २८ गते तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालय ललितपुरबाट सहकारी ऐन, २०४८ बमोजिम स्थापना भएको हो। संस्थाले २०७१ माघ १० गतेदेखि विधिवत् कारोबार सुरु गरेको जनाएको छ।

ललितपुर, काठमाडौं र भक्तपुर गरी तीन जिल्लालाई कार्यक्षेत्र बनाएको संस्था हाल प्रदेश सहकारी महाशाखा तथा नवगठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नियमनमा रहेको प्रतिवेदनमा उल्लेख छ। संस्था सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५, प्रदेश सहकारी ऐन, २०७६ तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०७५ अनुसार सञ्चालन हुँदै आएको अध्यक्ष थापाले जानकारी दिए।
संस्थामा हाल ११ जना कर्मचारी कार्यरत रहेका छन्। सञ्चालक समिति तथा समिति पदाधिकारीलाई बैठक भत्ता मात्र दिने व्यवस्था रहेको संस्थाले जनाएको छ।

महिमा बहुउद्देश्यीय सहकारीले साना व्यवसायी, कृषि, घरेलु उद्योग तथा हस्तकला व्यवसायीलाई सामूहिक जमानीमा रु. ३ लाखसम्मको बिना धितो ऋण प्रवाह गर्दै आएको छ। सदस्यका लागि सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै सिस्टयाम्याटिक इन्भेष्टमेन्ट प्लान र लाइफ सेक्योर प्लानजस्ता बचत योजनासमेत सञ्चालनमा रहेका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ मा संस्थाले कारोबार विस्तार गरी रु. ३५ करोड पुर्‍याउने लक्ष्य लिएको छ। नयाँ लगानीका क्षेत्रको खोजी, पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन, कृषि तथा उत्पादन क्षेत्रको विकास, साना तथा सीमान्तकृत सदस्यको वित्तीय पहुँच विस्तार तथा कर्मचारी र पदाधिकारीका लागि तालिम एवं अवलोकन भ्रमणलाई आगामी योजनामा समेटिएको छ।

त्यसैगरी, सदस्यलाई आफ्नै भवनबाट सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय भवन निर्माण गर्ने योजना पनि संस्थाले अघि सारेको छ।
साधारणसभाको समापनमा अध्यक्ष जनक प्रकाश थापाले संस्थाका सदस्य, शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना व्यक्त गरे।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार