परिचित बचत तथा ऋण सहकारीको १८औँ साधारणसभा सम्पन्न



ललितपुर । परिचित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुसुन्ती ललितपुरको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। भदौ २७ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षणसम्बन्धी प्रतिवेदन छलफलसहित पारित गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटसमेत स्वीकृत गरेको छ। यस्तै, संस्थाका विभिन्न नीति तथा कार्यविधि, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएका छन्।

सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिसम्बन्धी निर्णय

सभाले सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचनसम्बन्धी प्रस्ताव अघि बढाएको छ। साथै, विभिन्न उपसमितिले गरेका निर्णय अनुमोदन गर्ने, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उपसमितिका पदाधिकारीको भत्ता निर्धारण गर्ने र व्यवस्थापनतर्फका कर्मचारीको पारिश्रमिक तोक्नेसम्बन्धी प्रस्तावमा समेत निर्णय गरिएको छ।

संस्थाको सम्पत्ति तथा गैरसम्पत्ति बिक्रीका लागि आवश्यक अख्तियारी प्रदान गर्ने, सफ्टवेयर परिवर्तन गर्ने तथा विद्युतीय उपकरण खरिद गर्ने प्रस्तावसमेत साधारणसभाले स्वीकृत गरेको छ।

करोड रुपैयाँ शेयर पुँजी कायम

संस्थाको वार्षिक प्रतिवेदनअनुसार परिचित बचत तथा ऋण सहकारीको शेयर पुँजी ५ करोड रुपैयाँ कायम रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको चुक्ता शेयर पुँजी ३ करोड २५ लाख ३ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। संस्थाले शेयर पुँजीलाई क्रमिक रूपमा चुक्ता गर्दै लैजाने नीति लिएको जनाएको छ।

नेपाल सरकारको सहकारी ऐनअनुसार स्थापना भएको संस्थाको मुख्य कार्यालय ललितपुर महानगरपालिका–१३, कुसुन्तीमा रहेको छ। संस्थाको कार्यक्षेत्र ललितपुर महानगरपालिकाका वडा नम्बर ३, ४, ५, १३ र १५ मा रहेको छ।

७ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा समिति

संस्थामा ७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति रहेको छ। व्यवस्थापनतर्फ ८ जना कर्मचारी कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ।

सदस्यलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सफ्टवेयर जडान गरिएको संस्थाले जनाएको छ।
त्यस्तै, सहकारी विभागले सञ्चालनमा ल्याएको एकीकृत सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) तथा ललितपुर महानगरपालिकाको आर्थिक विकास महाशाखा र सहकारी व्यवस्थापन शाखासँगको सहकार्यमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूमा संस्थाले सहभागिता जनाउँदै आएको जनाएको छ।

विभिन्न बचत योजना सञ्चालनमा

संस्थाले सदस्यहरूको सानो–सानो बचतलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्दै सहज र सरल प्रक्रियाबाट ऋण उपलब्ध गराउँदै आएको जनाएको छ।

संस्थामा नियमित मासिक बचत, साधारण बचत, खुत्रुके बचत, बालबालिका बचत, ज्येष्ठ नागरिक बचत, नारी बचत, विशेष बचत तथा आवधिक बचतलगायत विभिन्न बचत योजना सञ्चालनमा रहेका छन्।
सदस्यहरूको आर्थिक हितलाई केन्द्रमा राखेर बचत तथा ऋण कारोबारमार्फत वित्तीय आवश्यकता पूरा गर्ने तथा रोजगारीमूलक व्यवसाय सञ्चालनका लागि सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्य संस्थाले लिएको छ।

सदस्यकेन्द्रित सेवा विस्तार गर्ने रणनीति

साधारणसभामा संस्थाले सहकारीका नीति, सिद्धान्त र भावनालाई आत्मसात् गर्दै सदस्यबीचको सहकार्य तथा विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

मध्यम वर्गीय तथा कृषक समुदायसँग रहेको सानो पुँजीलाई एकीकृत गरी सदस्य तथा समुदायको आर्थिक समृद्धिका लागि परिचालन गर्ने लक्ष्य संस्थाले लिएको छ।

प्रतिवेदनमा कोरोना महामारी, विश्वव्यापी आर्थिक मन्दी तथा अन्य आर्थिक चुनौतीका कारण सहकारी क्षेत्रमा परेको प्रभावको समीक्षा गर्दै आगामी दिनमा संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाउने रणनीति अघि सारिएको उल्लेख छ। संस्थाले सदस्यकेन्द्रित सेवा विस्तार गर्दै सहकारीको दिगो विकासमा जोड दिने जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार