काठमाडौँ । ८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँ फोटोग्राफर संघ (केपीए)ले विशेष फोटोवाक तथा फोटो प्रतियोगिता आयोजना गरेको छ। संघले २०८३ साल भदौ ३ गते बुधबार बिहान फोटोवाक कार्यक्रम सम्पन्न गरेको हो।
संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौँ महानगरपालिका–१५ का वडा अध्यक्ष ईश्वरमान डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सचिव कैलाशकुमार श्रेष्ठ तथा प्रतिष्ठानका परिषद् सदस्य एवं फोटोवाक नेपालका अध्यक्ष ओमप्रकाश यादव विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे, पूर्व अध्यक्षहरू मोतीबहादुर बोगटी र दिगम्बर राजवंशीसहित निवर्तमान, पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य, एरिया समितिका संयोजक तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
त्यसैगरी, काठमाडौँ विश्वविद्यालयमा फोटोग्राफी अध्ययनरत विद्यार्थी तथा फोटो नेपालसँग आबद्ध फोटोग्राफरहरूको पनि उत्साहजनक सहभागिता रहेको संघले जनाएको छ।
कार्यक्रममा फोटो नेपालका अध्यक्ष कृष्ण पराजुलीले सहयोग गर्नुभएको थियो। काठमाडौँ विश्वविद्यालय र फोटोवाक नेपाल सहयोगी संस्थाका रूपमा सहभागी थिए।
संघका उपाध्यक्ष हरि ज्ञवालीले खादा लगाएर अतिथिहरू तथा सहभागीलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संघका सचिव कालिकाप्रसाद रिमालले गर्नुभएको थियो भने समग्र कार्यक्रमको संयोजन संयोजक विनोद ढकालले गर्नुभएको थियो।
प्रतियोगिताका नियम
संघका अनुसार फोटोवाकका क्रममा खिचिएका तस्बिरको लामो भाग (Longest Side) कम्तीमा ३ हजार पिक्सेल हुनुपर्नेछ। तस्बिरहरू २०८३ साल भदौ ३ गते बुधबार दिउँसो १ बजेसम्म फोटोवाक कार्यक्रम अवधिमा खिचिएको हुनुपर्नेछ।
एक जना प्रतियोगीले बढीमा दुईवटा तस्बिर मात्र प्रतियोगिताका लागि पठाउन पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्ना तस्बिरहरू २०८३ साल भदौ ६ गते शनिबार राति १२ बजेसम्म kpaphotowalk2083@gmail.com मा पठाइसक्नुपर्ने संघले जनाएको छ।
संघले विश्व फोटोग्राफी दिवसलाई सिर्जनात्मक रूपमा मनाउँदै फोटोग्राफी क्षेत्रमा आबद्ध तथा अध्ययनरत नयाँ पुस्तालाई समेत प्रोत्साहन गर्ने उद्देश्यले फोटोवाक तथा प्रतियोगिता आयोजना गरेको जनाएको छ।








