काठमाडौं । रोयल इन्फिल्डको लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। कम्पनीले बिहीबार काठमाडौंको पुल्चोकस्थित द प्लाजामा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ संस्करण सार्वजनिक गरेको हो।
नेपाली बजारमा ‘क्लासिक ३५० गोर्खा एडिसन’को मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। रोयल इन्फिल्ड नेपालको आधिकारिक वेबसाइटले पनि गोर्खा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ कायम गरेको पुष्टि गरेको छ।
गोर्खा सैनिकको साहस, अनुशासन र विरासतबाट प्रेरित यस संस्करणमा विशेष ‘गोर्खा ग्रीन’ रङ, गोर्खा एडिसनको ब्याज तथा खुकुरीबाट प्रेरित ग्राफिक्स दिइएको छ। भारतमा समेत यो विशेष संस्करण हालै सार्वजनिक गरिएको हो, जहाँ यसलाई गोर्खा रेजिमेन्टको विरासतप्रति सम्मानका रूपमा प्रस्तुत गरिएको छ।
मोटरसाइकलमा ३४९ सीसीको जे–सिरिज एकल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ। यसले २०.२ पीएस शक्ति र २७ एनएम टर्क उत्पादन गर्छ भने ५–स्पिड गियरबक्ससँग जोडिएको छ। गोर्खा एडिसनमा स्लिप एन्ड असिस्ट क्लच र यूएसबी टाइप–सी चार्जिङ पोर्टसमेत उपलब्ध छन्।
कम्पनीका अनुसार नयाँ संस्करणको मुख्य आकर्षण यसको विशेष सैन्य–प्रेरित डिजाइन हो। यान्त्रिक पक्ष भने नियमित क्लासिक ३५० कै आधारमा रहेको छ। यसमा डुअल–च्यानल एबीएससहितको ब्रेकिङ प्रणाली उपलब्ध छ।
रोयल इन्फिल्डले नेपाली बजारमा क्लासिक ३५० लाई विभिन्न रङ तथा भेरियन्टमा बिक्री गर्दै आएको छ। नयाँ गोर्खा एडिसन थपिएसँगै क्लासिक ३५० प्रेमी तथा गोर्खा विरासतसँग जोडिएको डिजाइन रुचाउने ग्राहकका लागि अर्को विकल्प थपिएको छ।
द प्लाजामा सम्पन्न सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, अटोमोबाइल क्षेत्रका व्यवसायी तथा रोयल इन्फिल्डका ग्राहक एवं बाइकप्रेमीहरूको सहभागिता रहेको थियो।








