राप्रपाले समर्थन गर्ने संकेत गरेपछि बागमतीमा किरण थापाको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्यो



हेटौँडा । बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापा मगरको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुलेको छ। एमाले नेतृत्वमा सरकार गठनका लागि निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने संकेत गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको हो।

स्रोतका अनुसार राप्रपा तत्काल सरकारमा सहभागी नहुने भए पनि सरकार गठनका लागि समर्थन गर्ने तयारीमा छ। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सत्ता समीकरणअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति यसअघि नै भइसकेको थियो।

तर, एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवारलाई लिएर विवाद हुँदा सरकार गठन प्रक्रिया केही समय अलमलमा परेको थियो। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई संसदीय दलको नेतामा निरन्तरता दिने र किरण थापा मगरलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेपछि आन्तरिक विवाद तत्कालका लागि समाधान भएको हो।

मुख्यमन्त्रीका रूपमा अघि सारिएका थापालाई अन्य दलसँग सरकार गठनका लागि आवश्यक समर्थन जुटाउने जिम्मेवारीसमेत दिइएको छ। एमालेले उनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। बागमती प्रदेशसभा १०४ सदस्यीय छ। सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

एमाले र नेकपाका सांसद मात्रै जोड्दा ५१ पुग्छन्, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा दुई कम हो। त्यसैले सरकार गठनमा राप्रपाको समर्थन महत्वपूर्ण देखिएको छ। राप्रपाका १२ सांसदको समर्थन प्राप्त भए एमाले–नेकपा गठबन्धनसँग स्पष्ट बहुमत पुग्नेछ।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि बागमतीमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको हो। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिसकेका छन्।

यससँगै बागमती प्रदेशले केही दिनभित्र नयाँ मुख्यमन्त्री पाउने सम्भावना बढेको छ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार