नेपाल होस्टल एशोसिएसन काठमाडौंको १२औँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल होस्टल एशोसिएसन (NeHA) काठमाडौं जिल्ला कार्यसमितिको १२औँ वार्षिक साधारण सभा तथा बधाई, शुभकामना र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा NeHA का केन्द्रीय अध्यक्ष नरेन्द्रबहादुर बोहरा, उच्च अदालतका पूर्वन्यायाधीश साधुराम सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

साधारण सभाका अवसरमा NeHA केन्द्रीय कार्यसमिति तथा काठमाडौं जिल्ला कार्यसमितिअन्तर्गतका विभिन्न उपसमितिहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो। साथै उपसमितिहरूले संस्थाको गतिविधि र होस्टल व्यवसायीको हितमा पुर्‍याएको योगदानको कदर गर्दै प्रमाणपत्र तथा परिचयपत्र वितरण गरिएको थियो।

कार्यक्रममा विभिन्न कालखण्डमा संस्थालाई योगदान पुर्‍याएका अग्रजहरू, पूर्वकेन्द्रीय अध्यक्षहरू, केन्द्रीय पदाधिकारीहरू, पूर्वकेन्द्रीय सल्लाहकारहरू, ललितपुर जिल्ला अध्यक्षलगायत होस्टल व्यवसायी तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

साधारण सभाले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा होस्टल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायीमैत्री बनाउन आवश्यक पहल गर्ने विषयमा समेत जोड दिएको थियो। होस्टल व्यवसायसँग सम्बन्धित समस्या, व्यवसायीका हकहित तथा संस्थागत एकतालाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

कार्यक्रममा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष भोजिन्द्र श्रेष्ठले कार्यक्रम सफल बनाउन उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, अग्रज तथा सम्पूर्ण होस्टल व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सबैको सहयोग र सहभागिताले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको बताउँदै आगामी दिनमा पनि संस्थालाई थप प्रभावकारी ढंगले अघि बढाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।

नेपाल होस्टल एशोसिएसन काठमाडौं जिल्ला कार्यसमितिले संस्थागत एकता, व्यवसायीबीच सहकार्य र होस्टल क्षेत्रको व्यवस्थित विकासका लागि निरन्तर काम गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार