काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज (श्रावण १६ गते, शनिबार) काठमाडौंमा निर्वाचन हुँदैछ। अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिने भएपछि पेट्रोलियम व्यवसायीबीच चुनावी गतिविधि तीव्र बनेको छ।
अध्यक्ष पदका उम्मेदवार ईश्वर लामाले ‘पारदर्शी नेतृत्व, सुरक्षित व्यवसाय र सबै व्यवसायीलाई सम्मान’ भन्ने नारासहित व्यवसायीसँग मत मागिरहेका छन्। उनले व्यवसायीको हकहितको संरक्षण, संस्थागत एकता, सुशासन प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता बनाएका छन्।

लामाले व्यवसायीबीच आपसी विश्वास, सहकार्य र सम्मानलाई सुदृढ गर्दै संस्थालाई थप प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, पेट्रोलियम व्यवसायीका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी जिम्मेवार र परिणाममुखी नेतृत्व प्रदान गर्ने उनको भनाइ छ।
उनले पेट्रोलियम व्यवसायले भोगिरहेका नीतिगत चुनौती, व्यवसायिक सुरक्षा, संस्थागत सुशासन तथा व्यवसायीबीचको सहकार्यलाई आफ्नो मुख्य एजेन्डा बनाएको जनाएका छन्। व्यवसायीको अधिकार संरक्षणसँगै पेट्रोलियम क्षेत्रलाई समयसापेक्ष, व्यवस्थित र प्रतिस्पर्धी बनाउने दिशामा आफू सक्रिय रहने उनले बताएका छन्।
बागमती प्रदेशका पेट्रोलियम व्यवसायीहरूको साझा संस्था बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको नयाँ नेतृत्व चयनलाई व्यवसायीहरूले विशेष महत्वका साथ हेरेका छन्। निर्वाचित हुने नयाँ कार्यसमितिले व्यवसायीका समस्या समाधान, नेपाल आयल निगम तथा सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय, इन्धन आपूर्ति व्यवस्थापन र व्यवसायीहरूको हकहित संरक्षणमा थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।







