दिल्लीमा आन्दोलन चर्किँदै गएपछि १६ वटा मेट्रो स्टेसन बन्द, हजारौं यात्रु अलपत्र



dilli

भारतको दिल्लीस्थित जन्तर-मन्तरमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) को आन्दोलन चर्किएपछि दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरक्षाको कारण देखाउँदै मध्य दिल्लीका १६ वटा मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरेको छ।

स्टेसनका प्रवेश र निकास द्वारहरू एक्कासि बन्द गरिएपछि कार्यालय जाने कर्मचारी, विद्यार्थी र सर्वसाधारण यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

राजीव चोक, सेन्ट्रल सेक्रेटारियट, मन्डी हाउस, आइटिओ र खान मार्केट जस्ता व्यस्त स्टेसनहरू बन्द भएपछि यात्रुहरू वैकल्पिक यातायातका साधन खोज्न र रूट परिवर्तन गर्न बाध्य भएका छन्।

कर्पोरेसनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै यात्रुहरूलाई स्टेसन बाहिर निस्कन वा प्रवेश गर्न नदिए पनि मुख्य स्टेसनहरू — राजीव चोक, मन्डी हाउस र सेन्ट्रल सेक्रेटारियटमा अन्य लाइनको रेल फेर्ने सुविधा भने यथावत् राखिएको जनाएको छ।

संसदको जारी मनसुन अधिवेशनबीच जन्तर-मन्तरमा हजारौं विद्यार्थी तथा प्रदर्शनकारीहरू भेला भई संसदतर्फ अघि बढ्न खोजेपछि दिल्ली प्रहरीको सिफारिसमा रेल कर्पोरेसनले यो कदम चालेको हो।

यसबीच जन्तर-मन्तरमा हजारौंको संख्यामा प्रदर्शनकारीहरू भेला भइरहेका छन्। माग पूरा नभए ‘लाखौं जनता सडकमा ओर्लिने’ सिजेपी प्रवक्ता आशुतोष रांकाले चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार