प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त



काठमाडौं, असार २९ — प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन्।

नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका अध्यक्ष श्रेष्ठले निष्पक्ष, न्यायपूर्ण र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले प्रेस काउन्सिलजस्ता नियामक निकायले सञ्चार क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन सक्रिय भूमिका खेल्नुपर्ने बताए।

मन्त्री तिमिल्सिनाले पछिल्लो समय गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौती बनेको उल्लेख गर्दै त्यसको पहिचान र नियन्त्रणका लागि काउन्सिलले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सञ्चार क्षेत्रलाई सुदृढ बनाउन मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अघि बढिरहेको जानकारी पनि दिए।

उनले प्रेस काउन्सिललाई थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै कानुन र विधिको सीमाभित्र रहेर नागरिकको हितलाई केन्द्रमा राखी काम गर्न निर्देशन दिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन समयानुकूल हुन नसकेको भन्दै त्यसको परिमार्जन आवश्यक रहेको बताए। उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने स्पष्ट पारे।

सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा प्रेस काउन्सिल सक्रिय रहने बताए।

यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान, सेवा विस्तार र सुशासन प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कानुन, नीति र नियमको परिधिभित्र रहेर नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणका लागि आवश्यक निर्णय लिन आफू दृढ रहेको बताए।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार