अमेरिकाको हमलासँगै होर्मुज स्ट्रेटमा फेरि तनाव, तेलको मूल्य वृद्धि



काठमाडौं । अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन।

युएस सेन्टकमले मङ्गलबार राति जारी गरेको जानकारीअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दल रहेका व्यावसायिक जहाजहरूलाई निसाना बनाइएपछि यसको रक्षा र इरानलाई जवाफदेही बनाउन यो सैन्य कारबाही सुरु गरिएको हो। अमेरिकाले इरानका ८० भन्दा बढी लक्ष्यहरूमा सटिक हतियार प्रहार गरेको छ। जसमा हवाई रक्षा प्रणाली, कमान्ड एन्ड कन्ट्रोल नेटवर्क, तटीय राडार, एन्टी-सिप क्षेप्यास्त्र प्रणाली र ६० भन्दा बढी आईआरजीसीका साना डुङ्गाहरू सामेल छन्।

इरानी सरकारी मिडियाका अनुसार दक्षिणी इरानका केश्म टापु, बन्दर अब्बास, खार्ग टापु र सिरिक बन्दरगाह जस्ता रणनीतिक स्थानहरूमा विस्फोट भएका छन्। अमेरिकाका अनुसार मङ्गलबार इरानले मार्सल आइल्यान्डको झन्डा भएको एम/टी अल रकैयात, साउदी अरबको एम/टी वेड्यान र लाइबेरियाको एम/टी साइप्रस प्रोस्पेरिटीमाथि आक्रमण गरेको थियो। यद्यपि इरानले यसको पुष्टि वा खण्डन गरेको छैन।

तेल प्रतिबन्ध पुनः लागू, बजारमा कच्चा तेलको मूल्य बढ्यो
पछिल्लो तनाबसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट फिर्ता लिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यी प्रतिबन्धहरू आउँदो जुलाई १७ देखि पूर्ण रूपमा लागू हुनेछन्।

अमेरिका-इरान तनाव र जलसन्धिमा भएको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको छ। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी क्रुड फ्युचर्स (कच्चा तेल) को मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ। लगानीकर्ताहरूले बढ्दो मुद्रास्फीति र ब्याजदरको सम्भावनालाई आकलन गर्न थालेका छन्।

इरानका उप-विदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी कदमलाई हालै तेहरान र वासिङ्टनबीच भएको इस्लामाबाद सम्झौताको धारा १, २ र १० को ठाडो उल्लङ्घन भएको बताएका छन्। उनले राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न इरानले निर्णायक कदम चाल्ने चेतावनी दिए।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार