मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ८ बगुवास्थित कान्ति लोकपथमा फलामका पाइप बोकेको टेलर बागमती खोलामा खस्दा चालक बेपत्ता भएका छन्।
शनिबार साँझ करिब ६ बजेर २० मिनेटमा हेटौँडाबाट बगुवातर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको टेलर मकवानपुर–ललितपुर जोड्ने बागमती पुलबाट तल खोलामा खसेर दुर्घटनामा परेको हो।
प्रहरीले दिएको जानकारी अनुसार बागमती हाइड्रोपावरका लागि फलामका पाइप बोकेको टेलरमा बाँधिएको तार चुँडिएपछि गाडी अनियन्त्रित भई पुलबाट खोलामा खसेको पत्ता लागेको छ।
दुर्घटनामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ निवासी करिब ३० वर्षीय चालक दलबहादुर बर्तौला बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
टेलरमा सवार राक्सिराङ गाउँपालिका वडा नम्बर ९ निवासी १७ वर्षीय सहचालक प्रशन्न प्रजा सकुशल रहेका छन्।
घटनाको तुरुन्तैपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँचजनाको टोली घटनास्थल पुगेको थियो। साथै, नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको कमान्डमा सातजनाको टोली उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको प्रहरीले बताएको छ।






