जलवायु, संस्कृति र पर्यटनमार्फत विश्वशान्तिको सन्देश दिँदै ‘दोस्रो एएमएस ग्लोबल पिस समिट’ सम्पन्न



काठमाडौं ।
“वन प्लानेट, वन पर्पसः ट्रान्सफर्मिङ क्लाइमेट, कल्चर, टुरिज्म एन्ड फाइनान्स इन्टु द लिभिङ हार्टबिट अफ ग्लोबल पिस” भन्ने मूल नारासहित आयोजित दोस्रो एएमएस ग्लोबल पिस समिट काठमाडौंमा सम्पन्न भएको छ ।

बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा आयोजित उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, नीतिनिर्माता, सामाजिक अभियन्ता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तन, सांस्कृतिक संरक्षण, दिगो पर्यटन र आर्थिक सहकार्यलाई विश्वशान्ति तथा दिगो विकाससँग जोडेर विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी चुनौती सामना गर्न शान्ति, एकता, उत्तरदायी नेतृत्व र दिगो विकासको आवश्यकता औंल्याउनुभयो । उहाँले नेपालले विश्वशान्ति, सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

समिटअन्तर्गत कानून, वातावरण, पर्यटन, वित्तीय क्षेत्र तथा सामाजिक विकाससँग सम्बन्धित विषयमा विभिन्न प्यानल छलफल सञ्चालन गरिएको थियो । वक्ताहरूले जलवायु संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना, समावेशी आर्थिक वृद्धि र दिगो पर्यटनलाई दीर्घकालीन शान्ति निर्माणका आधारका रूपमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पर्यटन, संस्कृति, सामाजिक विकास, वातावरण संरक्षण तथा शान्ति प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो । आयोजकका अनुसार यस्तो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको पर्यटन, सांस्कृतिक पहिचान र विश्वमञ्चमा सकारात्मक छवि निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार