एमाले बैठकमा चर्काचर्की, चार उपाध्यक्षले मागे ओलीको राजीनामा

ओली राजीनामा नदिने अडानमा


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) सचिवालय बैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भएको स्रोतले जनाएको छ ।

आजको बैठकमा पार्टीका पाँच जना उपाध्यक्षहरुले धारणा राखेका थिए । उनीहरूमध्ये रामबहादुर थापा बाहेक अन्य चार उपाध्यक्षले पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

राजीनामा माग्ने उपाध्यक्षहरूमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । उनीहरूले एमालेलाई कमजोर अवस्थामा पुर्‍याएको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने र नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

यता, बादल भने ओलीको पक्षमा उभिएका थिए । उनले पार्टीभित्र एकता कायम राख्नुपर्ने धारणा राखेको बताइएको छ । अध्यक्ष ओलीले भने राजीनामा नदिने स्पष्ट अडान लिएका छन् । उनले केही नेताहरू विपक्षीसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाएका छन् । बैठक आजका लागि स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार