आधा दर्जन सहसचिवको सरुवा, भक्तपुर-ललितपुरसहितका जिल्लाले पाए नयाँ सिडिओ



काठमाडौँ । गृह मन्त्रालयले मातहत कार्यरत आधा दर्जन सहसचिवको सरुवा गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएको छ । मंगलबार गरिएको सरुवाअनुसार ६ जना सहसचिवलाई विभिन्न जिल्ला प्रशासन कार्यालयमा खटाइएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार सरुवा गरिएका सबै सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत बिनोद कुमार खड्कालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ ।

त्यसै गरी भैरहवा विमानस्थल कार्यालयमा कार्यरत निश्चल राज पाण्डेलाई जिल्ला प्रशासन कार्यालय दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत विश्व प्रकाश अर्याललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरुवा गरिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले गरेको यो सरुवासँगै भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दाङ र रुपन्देहीसहितका जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार