जन्मकैद सजाय भुक्तान गरिरहेकी महिला सुन्धारा कारागारबाट मध्यराति फरार



काठमाडौं । चोरी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेकी एक महिला काठमाडौंको सुन्धारास्थित कारागारबाट मध्यराति फरार भएकी छन्।

फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको कारागार प्रशासनले जनाएको छ।

सुन्धारा कारागारका प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार तामाङ शुक्रबार राति करिब १ बजे कारागारको पर्खाल नाघेर भागेकी हुन्। प्रारम्भिक अनुसन्धानअनुसार उनले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल चढी कारागारबाट बाहिरिएको देखिएको छ।

तामाङ यसअघि पनि ‘जेनजी आन्दोलन’का क्रममा कारागारबाट फरार भएकी थिइन्। त्यसबेला उनी करिब दुई महिनापछि पुनः पक्राउ परेकी थिइन्।

घटनापछि कारागार प्रशासन र प्रहरीले फरार कैदीको खोजीका साथै सुरक्षा कमजोरीबारे आन्तरिक अनुसन्धान सुरु गरेका छन्।

सुन्धारा कारागारको सुरक्षा व्यवस्थापन काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा रहने गर्दछ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार