काठमाडौं । बागमती प्रदेश सरकारले आयोजना गरेको ‘तेस्रो प्रदेश भाषा दिवस २०८३’ ऐतिहासिक कमलपोखरी क्षेत्रमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। भाषा, संस्कृति र सम्पदा संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा सहभागीहरूले कमलपोखरीको मौलिक स्वरूप जोगाउनुपर्ने माग गर्दै मातृभाषाको संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने बताएका छन्।
कार्यक्रममा विभिन्न भाषिक समुदाय, साहित्यकार, संस्कृतिकर्मी, बुद्धिजीवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मातृभाषा कुनै समुदायको पहिचान, इतिहास र सभ्यताको आधार भएकाले यसको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कमलपोखरी क्षेत्रमा आयोजित प्रभातफेरी, सांस्कृतिक झाँकी तथा सभामा सहभागीहरूले भाषिक विविधताको सम्मान गर्दै बहुभाषिक नेपालको पहिचानलाई अझ सशक्त बनाउनुपर्ने बताएका थिए। कार्यक्रममा विभिन्न समुदायले आ–आफ्नो भाषा, भेषभूषा तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।

कार्यक्रमका वक्ताहरूले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण बिना भाषा र पहिचानको संरक्षण सम्भव नहुने उल्लेख गर्दै कमलपोखरी काठमाडौंको ऐतिहासिक धरोहर भएकाले यसको मौलिकता कायम राख्न सरकार र स्थानीय तह जिम्मेवार बन्नुपर्ने बताएका थिए।
बागमती प्रदेश सरकारले २०८१ सालदेखि वैशाख २४ गतेलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउन सुरु गरेको हो। प्रदेश सरकारी कामकाजमा नेपाल भाषा र तामाङ भाषाको प्रयोगलाई प्राथमिकता दिने नीति कार्यान्वयनमा ल्याइएपछि भाषा दिवसलाई विशेष महत्वका साथ मनाउन थालिएको छ।
यस अवसरमा सहभागीहरूले विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिक सेवामा मातृभाषाको प्रयोग बढाउनुपर्ने माग समेत गरेका थिए। भाषा संरक्षणसँगै डिजिटल माध्यममा स्थानीय भाषाको प्रयोग विस्तार गर्नुपर्ने विषयमा पनि कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा सहभागी सम्पदाप्रेमीहरूले विकास निर्माणका नाममा ऐतिहासिक सम्पदा मास्ने कार्य रोक्नुपर्ने भन्दै कमलपोखरीलाई पुरानै स्वरूपमा संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। भाषा दिवसलाई केवल औपचारिकतामा सीमित नगरी व्यवहारिक रूपमा भाषिक अधिकार सुनिश्चित गर्नुपर्ने धारणा समेत कार्यक्रममा व्यक्त गरिएको थियो।





