काराकास । अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले रक्षामन्त्री भ्लादिमिर पाड्रिनोलाई पदमुक्त गरेकी छन् । सन् २०१४ देखि सेनाको नेतृत्व सम्हाल्दै आएका पाड्रिनोको बहिर्गमनलाई भेनेजुएलाको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
पूर्व राष्ट्रपति निकोलस मादुरो निकटका मानिने पाड्रिनोमाथि भ्रष्टाचार, प्रदर्शनकारीमाथि दमन र मानवअधिकार उल्लंघनका आरोप लाग्दै आएका थिए । साथै, खानी, तेल र खाद्यान्न वितरणजस्ता क्षेत्रमा सेनाको प्रभाव बढाएको भन्दै उनको आलोचना हुने गरेको थियो ।
रोड्रिगेजले पाड्रिनोलाई सेवाका लागि धन्यवाद दिँदै उनलाई नयाँ जिम्मेवारी दिइने संकेत गरेकी छन् । पछिल्लो समय सरकारमा भइरहेका उच्चस्तरीय फेरबदलका बीच यस निर्णयलाई सत्ता पुनर्संरचनाको महत्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार





