कोही राजा बोक्ने कोही विचौलियाः नेताको बुद्धिले सकियो नेपालमा कम्युनिस्ट दबदबा



नेपालको पछिल्ला दुई दशकको संसदीय राजनीतिमा कम्युनिस्ट शक्तिको प्रभाव बलियो रहँदै आएको थियो। यही अवधिमा केपी शर्मा ओली चार पटक, पुष्पकमल दाहाल तीन पटक तथा माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई एक–एक पटक प्रधानमन्त्री बनेका थिए।

तर पछिल्लो प्रतिनिधिसभा निर्वाचनको समानुपातिक नतिजाले भने कम्युनिस्ट शक्तिको जनमत उल्लेख्य रूपमा घटेको देखाएको छ। कुल १ करोड ८ लाख ३५ हजार २५ सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ले ५१ लाख ८३ हजार ४९३ मत (४७.८४%) ल्याएर पहिलो स्थान हासिल गरेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस ले १७ लाख ५९ हजार १७२ मत (१६.२४%) पाएको छ।

कम्युनिस्ट दलमध्ये नेकपा एमालेले १४ लाख ५५ हजार ८८५ मत (१३.४३%) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ५७७ मत (७.४९%) प्राप्त गरेका छन्। सबै कम्युनिस्ट पहिचान भएका दलहरूको कुल मत २३ लाख ७८ हजार ६०१ मात्र पुगेको छ, जुन कुल मतको २१.९५ प्रतिशत हो।

प्रतिनिधिसभाको २७५ सिटमध्ये एमालेका २५ र नेकपाका १७ गरी ४२ जना मात्र कम्युनिस्ट सांसद निर्वाचित भएका छन्, जुन कुल प्रतिनिधित्वको १५.२७ प्रतिशत मात्रै हो। यसले नेपालमा कम्युनिस्ट शक्तिको प्रभाव विगत दुई दशकयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको संकेत गरेको छ।

नेपालमा समानुपातिक प्रणाली सुरु भएको २०६४ संविधानसभा निर्वाचन मा कम्युनिस्ट शक्तिको सबैभन्दा ठूलो जनमत देखिएको थियो। कुल १ करोड ७ लाख ३९ हजार ७८ मतमध्ये कम्युनिस्ट दलहरूले ६१ लाख ६४ हजार ५२५ मत (५७.४०%) पाए।

नेकपा माओवादी ले ३१ लाख ४४ हजार २०४ मत (२९.२४%) र नेकपा एमाले ले २१ लाख ८३ हजार ३७० मत (२०.३३%) पाएका थिए। ६०१ सदस्यीय संविधानसभामा ३६८ कम्युनिस्ट सभासद (६१.२३%) पुगेका थिए। २०७० संविधानसभा निर्वाचन मा कम्युनिस्ट मत घटेर ४३.२७% मा झर्‍यो। कुल ९४ लाख ६३ हजार ८६२ मतमध्ये कम्युनिस्ट दलहरूले ४० लाख ९५ हजार ४८५ मत पाए। एमालेले २२ लाख ३९ हजार ६०९ मत (२३.६६%) र माओवादीले १४ लाख ३९ हजार ७२६ मत (१५.२१%) पाएका थिए। संविधानसभामा कम्युनिस्ट प्रतिनिधित्व २८२ सिट (४६.९२%) मा झर्‍यो।

२०७४ प्रतिनिधिसभा निर्वाचन मा एमाले र नेकपा माओवादी केन्द्र को चुनावी गठबन्धनका कारण कम्युनिस्ट मत ४८% पुग्यो (४६ लाख ३८ हजार ७६९ मत)। एमालेले ३१ लाख ७३ हजार ४९४ मत (३३.२४%) र माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत (१३.७७%) पाए। २७५ सिटको प्रतिनिधिसभामा कम्युनिस्ट दलका १७७ सांसद (६४.३६%) पुगे।

२०७९ प्रतिनिधिसभा निर्वाचन मा कम्युनिस्ट मत ४२.६०% मा झर्‍यो। कुल १ करोड ५ लाख ६० हजार ६७ मतमध्ये ४४ लाख ९९ हजार १६३ मत कम्युनिस्ट दलले पाए। एमालेले २८ लाख ४५ हजार ६४१ मत (२६.९५%) र माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत (११.१३%) पाए। संसद्मा कम्युनिस्ट सांसद १२३ (४४.७२%) मात्र रहे।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार