चितवन-२ मा रवि लामिछानेको ऐतिहासिक जित: आफ्नै पुरानो रेकर्ड तोडे



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा पुनः एकपटक आफ्नो बलियो पकड प्रमाणित गरेका छन्। जारी मतगणनाको अन्तिम चरणको नतिजा अनुसार लामिछानेले ५४,४०२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै ठूलो अन्तरले पछाडि पारेका हुन्।

यो जितसँगै लामिछानेले यसअघि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा प्राप्त गरेको आफ्नै सर्वाधिक मतको रेकर्ड समेत तोडेका छन्। लामिछानेले आफ्ना प्रतिस्पर्धी भन्दा ३९,४६८ बढी मत ल्याएर अग्रता कायम राखेका छन्। यो विजयलाई राजनीतिक वृत्तमा रास्वपाको बढ्दो जनलहर र लामिछानेप्रतिको नागरिक भरोसाको रूपमा हेरिएको छ।

विजय सुनिश्चित भएपछि चितवनमा रास्वपाका कार्यकर्ता र समर्थकहरूले खुसियाली मनाउन सुरु गरेका छन्। लामिछानेले आफ्नो यो जितलाई चितवनबासीको परिवर्तनप्रतिको चाहना र विश्वासको प्रतिफल भएको बताएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार