सुशासन, समृद्धि र विकासको स्पष्ट एजेन्डासहित राना चुनावी मैदानमा



मकवानपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी दिनप्रतिदिन चुलिँदै गएको छ। फागुन २१ गते तय गरिएको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरू जनताको घरदैलोमा सक्रिय रूपमा पुगिरहेका छन्। यही क्रममा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका रामेश्वर राना सुशासन, समृद्धि र दिगो विकासको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्।

रानाले आफूलाई लामो राजनीतिक अनुभव र संगठनात्मक पृष्ठभूमिसहित जनताको भरोसाको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका छन्। घोषणापत्रसहित मतदातामाझ पुग्दै उनले विकासका ठोस योजना, पारदर्शी शासन प्रणाली र युवा सहभागितामूलक नेतृत्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइरहेका छन्।

लामो राजनीतिक यात्रा
२०३६ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका रानाले विद्यार्थी राजनीतिबाट आफ्नो सक्रियता आरम्भ गरेका थिए। २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट संगठित राजनीतिक जीवन थालेका उनी २०३८ सालमा जिल्ला कमिटी उपाध्यक्ष हुँदै अध्यक्ष बने। २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन भएसँगै उनले राष्ट्रिय तहमा समेत आफ्नो भूमिका विस्तार गरे।

पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यका रूपमा निरन्तर सक्रिय रहेका राना २०५१ सालमा एमाले मकवानपुरको सचिव बने। उनले तीन कार्यकाल जिल्ला नेतृत्व सम्हालेका थिए। बागमती प्रदेश कमिटी सदस्य हुँदै चार कार्यकाल पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनी एमालेको ११औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन्।

स्थानीय तहमा नेतृत्वको अनुभव
रानाको राजनीतिक योगदान स्थानीय तहमा पनि उल्लेखनीय मानिन्छ। २०४९ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिका–११ का वडा अध्यक्ष निर्वाचित भएका उनी २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापति बने। त्यस अवधिमा चुरे संरक्षण अभियान, सडक सञ्जाल विस्तार र मकवानपुरको एकीकृत विकास अवधारणालाई अघि सारेको उनी निकट स्रोत बताउँछन्। उनले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, कृषि तथा पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन्।

अवसर र चुनौतीबीच निरन्तरता
२०६४ सालको संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरे पनि पराजित भएका रानाले त्यसपछि दुई पटक उम्मेदवार सिफारिसमा परे पनि अन्तिम अवसर नपाएको बताएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट कमल थापा उम्मेदवार बनेपछि अन्तिम समयमा संसदीय चुनाव लड्ने अवसरबाट वञ्चित हुनुपरेको उनको भनाइ छ।

यद्यपि, अवसर नपाए पनि पार्टी जिम्मेवारीमा निरन्तर सक्रिय रहँदै आएको बताउँदै उनले यसपटक जनताले आफ्नो अनुभव र इमान्दारितालाई मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन्। सादगी र संगठनप्रति निष्ठावान नेताका रूपमा परिचित रानाले मकवानपुर–१ मा आफ्नो बलियो पकड रहेको दाबी गर्दै जित सुनिश्चित गर्ने आशा व्यक्त गरेका छन्।

कडा प्रतिस्पर्धाको आँकलन
मकवानपुर–१ मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसकी पूर्व सांसद महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपाका युवा उम्मेदवार विजय गौतम, राप्रपाका पूर्व सांसद दीपकबहादुर सिंह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता प्रकाश गौतमसहितका उम्मेदवारहरू मैदानमा छन्।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल २३ जनाको उम्मेदवारी परेको छ। तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् भने १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
चुनाव नजिकिँदै जाँदा मतदातासँग प्रत्यक्ष संवाद, विकासका प्रतिबद्धता र अनुभवको प्रस्तुतीकरणमार्फत उम्मेदवारहरू आफ्नो पक्षमा माहोल निर्माण गर्न जुटेका छन्। मकवानपुर–१ का मतदाताले यसपटक कसलाई रोज्नेछन् भन्ने चासो तीव्र बनेको छ। आगामी निर्वाचनले यस क्षेत्रको राजनीतिक दिशा निर्धारण गर्ने भएकाले सबैको ध्यान यहीँ केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार