रुकुम पूर्व । पुष्पकमल दाहाल‘प्रचण्ड’ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् ।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा बोल्दै उनले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सीमासम्म विस्तार गरी कालोपत्रे गर्ने योजना रहेको बताए । सडक निर्माणपछि मैकोटलगायत क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।
सशस्त्र द्वन्द्वका क्रममा मारिएका शहीदहरूको सम्झनामा ‘शहीद मार्ग’ निर्माणको प्रस्ताव आफूले जनयुद्धकालमै अघि सारेको स्मरण गर्दै उनले शान्ति प्रक्रियापछि उक्त मार्गलाई राज्यको स्वामित्वमा ल्याएर काम अघि बढाइएको बताए ।
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको अवधारणा अघि बढाएर बजेट व्यवस्था गरिएको पनि उल्लेख गरे । हाल प्रचण्डको टोली तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे, डिम्मुर गहिरा, मयाङ, हुकाम हुँदै मैकोट पुगेको छ भने सोमबार सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ ।






