तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले कुनै पनि ठाउँलाई रिपोर्ट, किताब वा इन्टरनेटका आधारमा मात्र बुझ्न नसकिने बताएका छन्।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङस्थित देवीथान क्षेत्रमा स्थानीयसँग अन्तरक्रिया गर्दै चुनावी अभियानलाई कागजी बहसभन्दा प्रत्यक्ष अनुभूतिमा आधारित बनाउनुपर्ने बताए।
उनले तेह्रथुमको भूगोल, हावापानी र जनजीवनलाई नजिकबाट महसुस गरेपछि मात्र वास्तविक समस्या पहिचान गर्न सकिने उल्लेख गरे। “तेह्रथुमको नाम कागजमा पढ्न सकिन्छ, विकिपिडियामा पनि भेटिन्छ,” उनले भने, “तर यहीँ आएर स्थानीयसँग बसेर कुरा गरेपछि मात्र वास्तविकता बुझिन्छ। संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिको आधार चाहिन्छ।”

इन्जिनियरिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उनले ठूला र अव्यवहारिक योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने व्यवहारिक काममा जोड दिनुपर्ने धारणा राखे।
तेह्रथुमको कृषि उत्पादन क्षमता उच्च रहे पनि बजार व्यवस्थापन कमजोर हुनु मुख्य चुनौती भएको उनले बताए।
कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी थिए। उठेका सुझावलाई नीति तथा योजनामा समेट्ने उद्देश्यले आफूहरू जिल्ला–जिल्ला पुगेको शाहले जानकारी दिए।
पूर्वी नेपाल केन्द्रित अभियान अन्तर्गत इलाम, ताप्लेजुङ र पाँचथर हुँदै शाह तेह्रथुम पुगेका हुन्।






