काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटबारे छलफल भएको छ। धुम्बाराहीस्थित होटलमा भएको बैठकमा कांग्रेस प्रवक्ता देवराज चालिसे, नेता मधु आचार्य, देउवा समूहबाट रमेश लेखक र शेखर समूहबाट डा. मिनेन्द्र रिजाल सहभागी थिए।
मनोनयनको मिति नजिकिँदै जाँदा टिकट वितरणमा सहमति खोज्न छलफल भएको हो। एक दिनमात्र बाँकी रहेकाले आन्तरिक विवाद थाती राखेर उम्मेदवार टुंग्याउने प्रयास भइरहेको छ। बैठक आज पनि बस्ने बताइएको छ।
तीन समूहले नाम संकलन गरेपछि गगन थापाको नेतृत्वमा गठित १३ सदस्यीय संसदीय बोर्डले अन्तिम निर्णय गर्नेछ। विशेष महाधिवेशनपछि चर्किएको विवादका बीच निर्वाचन आयोगले थापा नेतृत्वलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च अदालत पुगेको छ।
प्रकाशित मिति : २०८२ माघ ६ गते सोमवार





