धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ चुनावी मैदानमा



विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्यकुमार भट्टराई (मनोज भट्टराई) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्टराई हाल धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष हुन्।

वडाध्यक्षका रूपमा रहँदा उनले धरानका मेयर हर्क साम्पाङको कार्यशैलीप्रति निरन्तर आलोचना गर्दै आएका थिए। कार्यपालिका बैठकहरूमा मेयर साम्पाङको निर्णय र कार्यशैलीबारे तथ्यसहित प्रश्न उठाउने गरेका भट्टराई सामाजिक सञ्जालमा समेत चर्चामा आएका छन्।

भट्टराई तत्कालीन नेकपा (माओवादी केन्द्र) धरान नगर कमिटीका अध्यक्षसमेत भइसकेका नेता हुन्।

यसै निर्वाचन क्षेत्रबाट धरानका मेयर हर्क साम्पाङले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। साम्पाङले ‘श्रम संस्कृति पार्टी’ गठन गरी चुनावी मैदानमा उत्रिने तयारी गरेका छन्। उनी यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयरमा निर्वाचित भएका थिए।

सुनसरी–१ मा भट्टराई र साम्पाङबीच हुने सम्भावित प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार