काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा राजधानीको भाटभटेनी–नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय र दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित जोखिमबाट उत्पन्न आर्थिक संकट न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले कम्पनीले स्थापनाको २८ वर्ष पूरा गर्दै बीमा क्षेत्रलाई स्वच्छ, पारदर्शी र विश्वासयोग्य बनाउने दिशामा निरन्तर काम गर्दै आएको उल्लेख गरे।
साधारण सभाले गत आर्थिक वर्षको समीक्षा गर्दै शेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा निर्माण सम्पन्न भएको ११ तले भवन (२ तला पार्किङसहित) सम्बन्धी विषय पनि अनुमोदन गरिएको छ। करिब ६० हजार वर्गफिट क्षेत्रफलमा बनेको उक्त भवन माघ २०८२ भित्र ठेकेदार कम्पनीबाट हस्तान्तरण भई कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्सालबाट पानीपोखरीस्थित आफ्नै भवनमा स्थानान्तरण गरिने जानकारी दिइयो। कम्पनीले आवश्यक पर्ने चार तल्लासम्म प्रयोग गर्ने र बाँकी तल्ला भाडामा लगाई आम्दानी गर्ने योजना पनि सभाबाट पारित भएको छ।
सभामा प्रस्तुत विवरणअनुसार, चालु आर्थिक वर्षको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबी परेको छ। त्यस्तै, असोज १८ गतेदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण करिब ४ अर्ब रुपैयाँ बराबरको दाबी परेको जानकारी दिइयो। यद्यपि, सरकारका नीतिगत पहल, आर्थिक सूचकांकमा देखिएको क्रमिक सुधार र शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि बलियो हुँदै जाने अपेक्षा व्यक्त गरिएको छ।
सूचना प्रविधिको बढ्दो महत्वलाई उल्लेख गर्दै अध्यक्ष ढकालले कम्पनीले डिजिटल, सुरक्षित र ग्राहकमैत्री सेवामा विशेष जोड दिँदै आएको र चालु आर्थिक वर्षमा सेवा अझै सरल र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको बताए।
यसै अवसरमा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको देशभर सातै प्रदेशमा फैलिएको ९० वटा शाखा सञ्जालमार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरको सहयोगमा सेवा प्रदान गरिरहेको जानकारी दिए। उनले २०८२ माघ मसान्तसम्ममा प्रधान कार्यालयका सम्पूर्ण सेवाहरू पानीपोखरीस्थित आफ्नै भवनबाट सञ्चालन हुने पनि स्पष्ट पारे।






