काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा (AGM) सोमबार काठमाडौंको पुरानो बानेश्वरमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीका अध्यक्ष भीमबहादुर पालको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारणसभाले अध्यक्ष पालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत अनुमोदन गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, निर्वाचनलगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्।
सभाले हाल कायम चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँको ०.७८९० प्रतिशतका दरले ५९ लाख ८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै चुक्ता पूँजीको १५ प्रतिशत बराबरको ११ करोड २२ लाख ६० हजार रुपैयाँको बोनस सेयर जारी गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कूल आम्दानी ३४ करोड ८० लाख ९ हजार ४४९ रुपैयाँ पुगेको छ भने खुद नाफा १३ करोड २१ लाख ५४ हजार १७१ रुपैयाँ रहेको छ।
साधारणसभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति सदस्यहरू समेत चयन गरेको छ। चयन हुने सञ्चालकहरूमा भीमबहादुर पाल, रमेशराज गौतम, प्रकृति गौतम, प्रदिपकुमार चालिसे तथा निशान्त लुनावट जैन रहेका छन्।
सभाका क्रममा सेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको समाधान अध्यक्ष पाल तथा कम्पनीका अन्य पदाधिकारीहरूले गरेका थिए। विविध कार्यक्रमसहित साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ।
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका क्षेत्र भएर बग्ने सोलु खोलामा कम्पनीको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। कम्पनीमा हाल ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको जानकारी पनि कम्पनीले दिएको छ।





