चिरख्वा हाइड्रोपावरको सातौँ वार्षिक साधारण सभा सम्पन्न, हकप्रद सेयर र महत्वपूर्ण प्रस्ताव पारित



काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) २०८२ पौष २३ गते काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्स मा सफलतापूर्वक सम्पन्न गरेको छ।

सभामा कम्पनीका अध्यक्षको अध्यक्षतामा सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको छ।

हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव स्वीकृत

सभाले कम्पनीको हालको चुक्ता पुँजी रु. ४० करोड लाई १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ। साथै, पुँजी संरचना संशोधन, प्रबन्धपत्र तथा नियमावली संशोधन, कर्जा भुक्तानी तथा आगामी आयोजनामा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पारित गरिएको छ।

वित्तीय तथा उत्पादन अवस्था

अध्यक्षको मन्तव्यमा कम्पनीको जारी, अधिकृत तथा चुक्ता पुँजीको अवस्था स्पष्ट पार्दै कम्पनीको जारी पुँजीको १०० प्रतिशत सेयर सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेको जानकारी दिइएको छ।
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यतिर आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जडान भई व्यावसायिक उत्पादन सुरु भएको उल्लेख गरिएको छ। यद्यपि, ट्रान्समिसन लाइनमा आएको समस्या तथा ट्रिपिङका कारण केही समय उत्पादन अवरुद्ध भएको तथ्य पनि सभामा जानकारी गराइएको थियो।

आर्थिक वर्ष २०८१/०८२ मा चिरख्वा खोला जलविद्युत आयोजनाबाट विद्युत् बिक्री गरी कम्पनीले नियमित आम्दानी गरेको विवरण प्रस्तुत गरिएको छ। श्रावण, भदौ र आश्विन महिनामा लक्ष्यअनुसार उत्पादन तथा आम्दानी भएको तथ्यांक सभामा पेश गरिएको छ।

आगामी योजना

सभामा कम्पनीले भविष्यमा नयाँ जलविद्युत आयोजनाको पहिचान, अध्ययन तथा विकास गर्ने, सम्भाव्य आयोजनामा लगानी विस्तार गर्ने र उत्पादन क्षमता वृद्धि गर्दै सेयरधनीलाई दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने लक्ष्य लिएको जानकारी गराइएको छ।

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार