एजेन्सी । भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति तोकेको छ। राष्ट्रपति निकोलास मदुरो अनुपस्थित रहेको अवस्थामा सरकार सञ्चालन गर्ने सम्पूर्ण अधिकार रोड्रिग्वेजलाई प्रदान गरिएको अदालतको फैसलामा उल्लेख छ।
यसअघि शनिबार नै राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो। हाल उनीहरूलाई अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिन हिरासत केन्द्रमा राखिएको जनाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यस आक्रमणपछि शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिकाले नै सञ्चालन गर्ने दाबी गरेका थिए ।
को हुन् डेल्सी रोड्रिगेज ?
डेल्सी रोड्रिगेज १८ मे १९६९ मा काराकसमा जन्मेकी हुन् । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । उनले १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।
कानूनमा स्नातक गरेकी डेल्सी अधिवक्ता समेत हुन् ।
उनी लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । उनले ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् ।
२०१३–२०१४ मा सञ्चार र सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकारको समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छिन् ।
२०१८ जुनमा उनलाई भेनेजुएलाको उपराष्ट्रपति नियुक्त गरिएको थियो र त्यसपछि उनी मुलुकको आर्थिक र राजनीतिक निर्णयहरूमा एक महत्वपूर्ण भूमिकामा छिन् ।
२०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धहरूबीच भेनेजुएलाको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अवसर प्रदान गरेको थियो ।
उपराष्ट्रपतिका रूपमा, रोड्रिगेजले विभिन्न मन्त्रालयहरू र आर्थिक नीतिहरू सम्हालेर देशको चरम महँगीको सामना गर्न प्रयास गरेकी छन्।
धेरैले उनलाई मादुरोको विश्वासपात्र सहयोगी र सरकारको कडा समर्थकका रूपमा हेर्छन् । अमेरिकाले मादुरालाई नियन्त्रणमा लिएलगत्तै उनले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन् ।





