काठमाडौं । नवमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित होटल तपसमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको हो।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गरी छलफलसहित पारित गरिएको छ। साथै, सो आर्थिक वर्षमा सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि आवश्यक नीति तथा कार्यक्रमहरू पनि पारित गरिएको छ।
सभाले लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समिति तथा व्यवस्थापकका सेवा–सुविधा सम्बन्धी प्रस्ताव, सदस्यहरूको दायित्व मिनाहा लगायतका महत्वपूर्ण प्रस्तावहरूमा छलफल गरी निर्णय गरेको छ।
अध्यक्षको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका चुनौती, कानुनी प्रक्रिया, कर्जा असुली, बचत सुरक्षालगायत विषयमा स्पष्ट पार्दै संस्थाले आर्थिक संकुचनको अवस्थामासमेत बचतकर्ताको रकम सुरक्षित राख्न सफल भएको उल्लेख गरिएको थियो। संस्थाको बचत, कारोबार र आन्तरिक व्यवस्थापनमा सुधार आएको र वित्तीय अनुशासनलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
सभामा सहभागी सदस्यहरूले संस्थाको प्रगति, पारदर्शिता र दीर्घकालीन स्थायित्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार र सुदृढ सहकारीको रूपमा अघि बढ्न सुझाव दिएका थिए।





