काठमाडौं । राहदानी विभागले अब आवेदन दिएको दुई दिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको छ। विभागका अनुसार हालसम्म कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ र आवश्यक परेकालाई तत्कालै वितरण गरिनेछ।
विभागले अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिसकेको जनाएको छ। राहदानी पुस्तिकाको पर्याप्त आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा वैयक्तिकरण प्रक्रिया अघि बढाई जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका नागरिकलाई राहदानी उपलब्ध गराउनेछ।
विभागका अनुसार गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका नागरिकलाई यही पुस १५ गतेभित्र नयाँ राहदानी उपलब्ध गराइनेछ। त्यसपछि आवेदन दिनेहरूलाई क्रमशः राहदानी वितरण गरिनेछ।
अन्तरिम अवधिका लागि पर्याप्त राहदानी पुस्तिका उपलब्ध भएपछि अब राहदानी वितरण प्रक्रिया सहज हुने विभागले जनाएको छ।





