रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि



काठमाडौं । रास्वपा सभापति रवि लामिछाने रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंको कारागारमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही पुगेका हुन् । उनीसँगै रास्वपाका केही नेताहरू पनि रुपन्देही गएका छन् ।

उक्त प्रकरणमा मुछिएका लामिछाने आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन माग गरेका थिए । सोही अनुरूप उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विहीबार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । साथै अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

विहीबार कार्यालय समय सकिएकाले शुक्रबारदेखि मात्र रिहाइ प्रक्रिया सुरु हुने जनाइएको छ । सो प्रक्रिया पूरा गर्न लामिछाने आज काठमाडौंबाट रुपन्देही गएका हुन् । उनलाई यसअघि भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।

प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार