बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्ध दायर मुद्दाको सुनुवाइ आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा हुँदैछ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा थुनामा रहेका लामिछाने र जोशीले आफूहरू सहित चार जनामाथि सामूहिक रूपमा कायम गरिएको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगोमध्ये आफ्नो भागमा पर्ने रकम बुझाएर रिहा हुन माग गर्दै अदालतमा निवेदन दिएका थिए।
लामिछानेले बिगोमध्ये आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत जिल्ला अदालत रुपन्देहीमा पेस गरे पनि साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनले भदौ ९ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका हुन्।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार उक्त मुद्दाको सुनुवाइ मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको छ।
सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी गत कात्तिक १३ गतेदेखि प्रत्येक बिहीबार तोकिँदै आए पनि विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको छ। यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ भन्दै स्थगित गरिएको थियो।





