पोर्चुगलको मदेइरामा घुम्ती कन्सुलर सेवा सुरु, पहिलो दिन ५५ नेपालीले सेवा लिए



लिस्बन । पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले सामुद्रिक टापु मदेइरामा पहिलोपटक घुम्ती कन्सुलर सेवा सञ्चालन गरेको छ। राहदानी नवीकरण तथा विभिन्न कागजात प्रमाणीकरणका लागि दूतावासको टोली शनिबारदेखि फुन्चालस्थित शिविरमार्फत सेवा दिन थालेको हो।

राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले सञ्चालन गरेको शिविरको पहिलो दिन ५५ जना नेपालीले सेवा लिएको दूतावासले जनाएको छ। दुई दिनसम्म चल्ने शिविरमार्फत एक सयभन्दा बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको छ।

शिविरमा राहदानी नवीकरण, म्याद सकिन लागेको वा हराएको राहदानीको ई–पासपोर्टका लागि जैविक विवरण सङ्कलन, प्रहरी रिपोर्ट, पारिवारिक कागजात तथा वारेसनामा प्रमाणीकरणलगायत सेवा उपलब्ध गराइएको छ।

राजदूत पौडेलका अनुसार पोर्चुगलको मुख्यभूमिबाट टाढा रहेको मदेइरामा कागजातसम्बन्धी समस्यामा परेका नेपालीलाई लक्षित गरी पहिलोपटक घुम्ती सेवा विस्तार गरिएको हो। यसबाट मदेइरावासी नेपाली समुदायले ठूलो राहत पाएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए।

उनका अनुसार राहदानी नवीकरण, हराएको राहदानी, म्याद सकिएको कागजात तथा अन्य कागजी प्रक्रिया पूरा गर्न कठिनाइ भोग्दै आएका नेपालीहरूका लागि यो सेवा अत्यन्तै उपयोगी बनेको छ।

यसअघि गत महिना दूतावासले पोर्चुगलको फारो शहरमा घुम्ती शिविर सञ्चालन गर्दै करिब २०० नेपालीलाई सेवा प्रदान गरेको थियो। पोर्चुगलमा करिब ७० हजार र मदेइरामा करिब २ हजार नेपाली बसोबास गर्ने अनुमान छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते आइतवार