काठमाडौं । सरकारद्वारा फिर्ता बोलाइएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालयमा हाजिर भई कामकाज गर्न निर्देशन दिएपछि तीमध्ये ६ जनाले राजीनामा बुझाएका थिए, जसलाई सरकारले स्वीकृत गरिसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।
सबैभन्दा पछिल्लो रूपमा रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका छन्। यसअघि अमेरिका, चीन, बेलायत र कतारमा कार्यरत— क्रमशः लोकदर्शन रेग्मी, कृष्णप्रसाद ओली, चन्द्रकुमार घिमिरे तथा रमेशचन्द्र पौडेल—ले राजीनामा बुझाइसकेका थिए।
३० असोजमा सरकारले ‘कार्यसम्पादन असन्तोषजनक’ भन्दै ११ देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न भनेको थियो। त्यसपछि सरकारले राजदूतहरूलाई सीधै फिर्ता नबोलाई ‘मन्त्रालयमा हाजिर भएर कामकाज गर्न’ निर्देशन दिएको थियो।
हाल मन्त्रालयमा हाजिर भएर काम गरिरहेका, तर राजीनामा नदिएका पाँच राजदूत—शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान)—ले सर्वोच्चको मुद्दाको टुंगो लागेपछि मात्र आफ्नो निर्णय गर्ने बताए।
परराष्ट्र मन्त्रालयका अनुसार राजीनामा दिएका ६ जनाले विदेशबाट फर्किएलगत्तै पद छाडेका हुन् र सबैको राजीनामा स्वीकृत भइसकेको छ।





